ताजा समाचार

भाद्र ४ गते २०७६

नारी शक्ति जागरण आमा समूहमा शिशिर

पोखरा १७ आँखा अस्पताल चोकको नारी शक्ति जागरण आमा समूहको प्रारम्भिक साधारणसभा तथा अधिवेशनले नयाँ समिति सर्वसम्मत चुनेको छ । समूहको अध्यक्ष शिशिर थापा गोदार, उपाध्यक्ष पियारी थापा, सचिव राधादेवी पौडेल लम्साल, कोषाध्यक्ष सरस्वती नेपाल सुवेदी, सहसचिव मञ्जु केसी र सहकोषाध्यक्ष गोमा श्रेष्ठ छन् ।

सदस्यमा ज्योति शेरचन, सीता पौडेल क्षेत्री, आशा सेवा परियार, डिलमाया कार्की, कल्पना गोदार, पुष्पलक्ष्मी महर्जन, दुर्गा लम्साल, दुर्गाकुमारी शर्मा, पूर्णकला पोखरेल, हरिकमला केसी र सुजिता पराजुली पौडेल छन् ।

कार्यक्रममा गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्माले समृद्ध समाज निर्माणका लागि महिलाको महत्वपूर्ण भूमिका रहने बताइन् । उनले महिला आयआर्जनसँग नजोडिई सशक्तीकरण र समृद्धि नहुने बताइन् । महिला संगठीत भएर आर्थिक, सामाजिक तथा राजनीतिक क्षेत्रमा नेतृत्वदायी भूमिका खेल्नुपर्नेमा जोड दिंदै उपसभामुख शर्माले ठूलो संघर्षबाट प्राप्त उपलब्धिको भरपूर उपयोग गर्दै अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याइन् ।

पोखरा १७ का वडाध्यक्ष तीर्थराज अधिकारीले विकासमा सबैको सहकार्य र एकतावद्ध प्रयास जरुरी हुने बताए । समाजको उत्थान र समृद्धिका लागि नारीका विभिन्न समूहले गरेका प्रयास, सशक्तीकरण र योगदानको अहम् भूमिका रहेको उनले उल्लेख गरे । पोखरा महानगरका कार्यपालिका सदस्य राधिका शाही योगीले युगको आकांक्षा सम्बोधन गर्न महिला सशक्तीकरण र समान सहभागिताको विकल्प नभएको बताइन् ।

अध्यक्ष शिशिर थापा गोदारको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पर्यटन पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष हरि बास्तोला, नेपाल रेडक्रस सोसाइटी मन्त्री उर्मिला खड्का, समाजसेवी तोयनाथ लम्साल, लीलबहादुर जिसी, रघुनाथ लम्साल, समूहका उपाध्यक्ष पियारी गुरुङ, सचिव गोमाकुमारी श्रेष्ठ, कोषाध्यक्ष सरास्वती नेपाल सुवेदी लगायतले बोलेका थिए ।


Loading...