राजमार्ग मै जहाज अवतरण !

राष्ट्रिय राजमार्गलाई धावनमार्गको रुपमा उपयोग गर्ने योजना ल्याएको सरकारले सम्भावित खण्डहरुको अध्ययन गर्ने भएको छ ।

चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा राजमार्गका विभिन्न खण्डलाई धावनमार्गका रूपमा प्रयोग गर्ने भनिएको थियो ।

यस्तो योजनामाथि पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका उच्च अधिकारीहरुले नै प्रश्न उठाइरहेका छन् ।

सरकारले भने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तरगतको सडक विभागलाई यो कामका लागि जिम्मा दिएको छ । यसका लागि सडक विभागले तयारी थालेको प्रवक्ता शिवहरि सापकोटाले जानकारी दिए । सापकोटाका अनुसार यो कार्यक्रमलाई वार्षिक योजनामा समेटिएको छ ।

‘यो कार्यक्रमका लागि छुट्टै बजेट विनियोजन भएको छैन,’ उनले भने, ‘तर विभागको परामर्श सेवाका लागि विनियोजित बजेट यस काममा खर्च गर्न सकिन्छ ।’

नेपालगञ्ज–कोहलपुर, बेलहिया–बुटवल, वीरगञ्ज पथलैया लगायतका ६ लेनमा विस्तार भएका र हुँदै गरेका सकडकहरुमा अध्ययन हुने सापकोटाले जानकारी दिए ।

नेपालमा एयरपोर्ट र धावनमार्गको निर्माण हेर्ने निकाय नेपाल उड्डयन प्राधिकरण हो । तर, विभागले अहिलेसम्म प्राधिकरणसँग यसबारे छलफल अघि बढाएको छैन ।

‘अहिले हामीले यस्तो धावनमार्ग निर्माणको निर्णय गरिसकेको छैनौं,’ प्रवक्ता सापकोटाले भने, ‘अध्ययनले गर्न सकिने देखियो भने सडकमा धावनमार्ग बनाउने प्रक्रिया सुरु हुन्छ ।’

जानकारहरुका अनुसार व्यवसायिक उडान भर्ने विमानलाई राजमार्गमा अवतरण गर्ने (हाई–वे स्ट्रिप) अभ्यास विश्वमा कतै छैन । आपतकालीन अवस्थामा भने विमानहरु राजमार्गमा अवतरण गरिएका केही उदाहरणहरु छन् । हालै रुसमा एक पाइलटले मकैबारीमा नै यात्रुवाहक जाज सुरक्षित अवतरण गराएका थिए ।