बुधबार बसेको राष्ट्रिय सभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद खेमकुमार विकले रविको पक्षमा भइरहेको जुलुस र प्रदर्शनका नाममा देशमा हिंसा भड्काउन खोजिएको आरोप लगाएका छन्। ‘रविको पक्षमा भइरहेको यो आन्दोलनका पछाडि कुन शक्ति छ? यो आन्दोलन डलर खाएर भइरहेको छ।
सरकारको ध्यान यसमा जानुपर्छ, यसको छानबिन हुनुपर्छ ’भन्दै पत्रकार शालिकराम पुडासैनीको आत्महत्यापछि पक्राउ परेका टेलिभिजन प्रस्तोता रवि लामिछानेको पक्षमा गणतन्त्र र व्यवस्थाविरोधीहरुले आन्दोलन गरिरहेको दाबी गरेका छन् ।
राज्यले कानुनको सहायताले सबै नागरिकलाई छानबिन गर्न पाउने तर्क उनले गरे। ‘जिउ धनको सुरक्षा गर्ने काम पनि राज्यको हो’, उनले भने, ‘राज्यले जोसुकै नागरिकलाई पनि कानुन अनुसार नियन्त्रणमा लिएर अनुसन्धान गर्न पाउँछ। यसमा किन विरोध? के का लागि विरोध?’ अहिले कुनै न कुनै नाममा मान्छेले आत्महत्या गरिरहेको बताउँदै सरकारले अनुसन्धान गर्दा विरोध जुलुस निकालिनु बेठीक हुने उनले बताएका छन् ।






