रक्तचन्दनको तेलसहित तीन पक्राउ

नेपाल प्रहरीले प्रतिबन्धितरक्तचन्दनको तेलसहित तीन जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त लैनचौरको टोलीले काठमाडौ महानगरपालिका–१६ नयाँबजारबाट रक्तचन्दनको तेलसहित धादिङका ५३ वर्षीय अच्युत केसी, सिन्धुपाल्चोकका ४३ वर्षीय जीत लामा र नुवाकोटका २६ वर्षीय सुजन पौडेललाई मङ्गलबार साँझ पक्राउ गरेको हो ।


वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोषसिंह राठौरले लामा बस्ने कोठामा प्लाष्टिकको बोराले छोपेर राखेको अवस्थामा सिल्भरको गाग्रोमा ४५ लिटर रक्तचन्दन फेला पारेको जानकारी दिए । पक्राउ परेकाले नयाँबजारको सोसल खेलमैदानमा रक्तचन्दनको कारोवार गर्ने गरेको अनुसन्धानबाट खुलेको छ ।

रक्तचन्दनको तेल लामाको कोठाबाट बरामद गरे पनि उक्त कारोवारमा केसी र पौडेलसमेत संलग्न रहेको राठौरले बताए ।पक्राउ परेका तीनै जनासँग आवश्यक अनुसन्धान भइरहेको वृत्तले जनाएको छ ।