काठमाडौंको नयाँ बानेश्वोरमा रहेको मेरो घरको सेवा पोखरामा पनि शुरु भएको छ । मेरो घरले मंगलबारदेखि पोखरामा आफ्नो सेवा शुभारम्भ गरेको हो ।
पोखरामा मेरो घरले जिरो किमि शान्तिनगर चोक नजिक कार्यालय स्थापना गरी सेवा शुभारम्भ गरेको हो ।

ललितपुरमा ४ वर्ष अघि स्थापित मेरो घरले पोखरा पहिलो शाखा स्थापना गरेको हो भने छिट्टै चितवनमा सेवा विस्तार गर्दैछ ।
मेरो घरका प्रमुख कार्यकारी अधिकृत विपिन गैरेका अनुसार संस्था स्थापना भएको छोटो अवधिमा लोकप्रिय बनेको छ । यो अवधिमा १ सय ५० वटा घर निर्माण गरि हस्तान्तरण गरिसकेको उनले बताए ।
‘नक्सा कोर्नेमात्र होइन, सबै परिवेशले उपयुक्त घर बनाउने मेरो घरको लक्ष्य हो’, गैरे भन्छन्, ‘सपनाको घर बनाएर दिन पनि तयार छौं ।’
मेरो घरमार्फत विज्ञ आर्किटेक, इन्जिनियर, ठेकेदार, प्राविधिक, सप्लायर, पेन्टर, पल्मबर, इलेक्ट्रिसियन सेवा उपलव्ध गराइने उनले बताए ।
घर बनाउने पेशा निकै महत्वपूर्ण र गम्भीर भए पनि यसले उद्योगको रुप लिन नसकेको भन्दै गैरेले यसले विस्तारै उद्योगको रुप धारण गर्ने स्पष्ट पारे ।

‘ससाना पेशा उद्योगको रुपमा स्थापित भएका छन्, तर घर बनाउने जस्तो करोडौं लगानी हुने काम उद्योगको रुपमा विकास हुन सकेन । यसले छिट्टै उद्योग रुप लिन्छ’, उनले भने ।
उनले नेपालको घर निर्माणमा वार्षिक २ सय ५० अर्व रुपैयाँ लगानी हुने बताए ।
मेरो घरका पोखरा शाखा प्रमुख दयाराम भण्डारीले मेरो घरको लक्ष्य र योजना समयको माग भएको बताए ।
‘काठमाडौंको सेवा पोखरामा भित्र्याएका छौं, अवश्य सफल हुनेछौं भन्ने विश्वास गरेका छौं’, उनले भने । अहिले कमाउने भन्दा पनि प्रविधि विस्तारमा आफूहरूको जोड रहेको भण्डारीको भनाइ छ ।




