रामलाल श्रीमाया फोटोग्राफी पुरस्कार मदनलाई

पोखरा फोटोग्राफर संघ पोखरा, नेपालद्धारा सञ्चालित रामलाल श्रीमाया फोटोग्राफी पुरस्कार–२०७६ बाट अग्रज फोटोग्राफर मदन सुब्बा ईङ्गनाम सम्मानित भएका छन् ।

संघले पोखरामा सोमबार आयोजना गरेको एक कार्यक्रमकाविच सुब्बालाई सम्मान गरेको हो । सुब्बालाई गण्डकी प्रदेशका उधोग पर्यटन, बन तथा वातावरण मन्त्री बिकास लम्सालले नगद २५ हजार पाँच सय पचपन्न रुपैया सहित सम्मान पत्रले सम्मान गरे । सम्मानित व्यक्तित्व मदन सुब्बा ईङ्गनाम लामो समयदेखि फोटोग्राफि पेशामा क्रियाशिल छन् । उनी पोखरा फोटोग्राफर संघका संस्थापक सदस्य तथा पूर्व अध्यक्षसमेत हुन् ।

मन्त्री लम्सालले गण्डकी प्रदेशमा फोटोग्राफीको इतिहास पनि एउटा पर्यटन ‘प्रोडक्ट’ हुन सक्ने भन्दै यसलाई पनि नजिकदै गरेका पर्यटकीय वर्षमा जोड्न सकिने बताए । मन्त्री लम्सालले गण्डकी प्रदेशमा सन २०१८ मा १५ लाख पर्यटक भित्र्याउन विश्व पर्यटन दिवशका दिनबाट सबै प्रदेशमा गण्डकी प्रदेशका बारेमा प्रचार प्रसार गरि आन्तरिक पर्यटक भित्र्याउने लक्ष्य राखेको बताए ।

पोखरा फोटोग्राफर संघका संस्थापक सदस्य तथा पूर्व अध्यक्ष समेत रहेका सम्मानीत ब्यक्तित्व सुब्बाले संघले गरेको सम्मानले फोटोग्राफी क्षेत्रमा अझ क्रियाशिल हुन प्रेरित गरेको बताए ।

अध्यक्ष रविनाथ दाहालको सभाअध्यक्षतामा भएको कार्यक्रमा , नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख काशिराज भण्डारी , नेपाल पत्रकार महासंघ गण्डकीका अध्यक्ष त्रिभुवन पौडेल, पुर्वअध्यक्ष रामजी थापा, निवर्तमान अध्यक्ष तुल्सीराम सुबेदी, फोटोग्राफर महासंघ केन्द्रका उपाध्यक्ष दुर्गा प्रसाद पौडेल, कैलाश बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष शिवहरि अधिकारी लगायतले बोलेका थिए ।

पोखरा फोटोग्राफर संघका संरक्षक गणेश छवि र उनकी पत्नी तिर्थ श्रेष्ठले वैवाहिक जीवनको २५ औ वर्षको शुभ अवसर पारेर आफ्ना वावु आमाको नाममा अक्षय कोष खडा गरी प्रत्यक दुई÷दुई वर्षमा विश्व फोटोग्राफी दिवसको अवसरमा यो पुरस्कार वितरण हुने गरेको छ । यस पुरस्कारबाट यसअघि अग्रज फोटोग्राफरहरु बिश्वरत्न शाक्य , नारायण बाटाजु र रमा राना सम्मानीत भइसकेका छन् ।

सोहि अवसरमा एक कार्यक्रमका बिच मानव सेवा आश्रम छोरेपाटनमा पुगेर आश्रमलाई १५,५५५ नगद सहित जिन्सी सहयोग हस्तान्तरण गरिएको छ । महिला जागरण अभियानकी अभियान्ता अन्जु क्षेत्री, रेडियो सफलताको प्रबन्ध निर्देशक दुर्गा अधिकारी सहितको उपस्थिति रहेको कार्यक्रममा पोखरा फोटोग्राफर संघका अध्यक्ष रविनाथ दाहाल, महिला उपसमिति संयोजक पुर्णकुमारी थापा लगायतले बोलेका थिए ।

पोखरा फोटोग्राफर संघले सहयोग पेटिका मार्फत उठेको रकम हरेक बर्षको हरितालीक तिजको अवसरमा असाह्य बालबालिका, बृद्धबृद्धाहरुलाई सहयोग गर्दै आएको छ ।