सकिएन बयान, रविलाई म्याद थप गरिने

न्यूज २४ का पत्रकार रवि लामिछानेसहित तीन जनालाई प्रहरीले आज अदालतसँग थप म्याद माग्दैछ। पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा अनुसन्धानका लागि उनीहरु पक्राउ परेका हुन् ।

लामिछानेसँगको बयान नसकिएकाले मंगलबार पुनः म्याद माग्न लागिएको चितवन प्रहरीले जनाएको छ। पक्राउपछि प्रहरीले ३१ साउनमा अदालतबाट पाँच दिनको म्याद लिएर अनुसन्धान सुरु गरेको थियो।

म्याद थपका लागि तीनैजनालाई मंगलबार दिउँसो अदालत पेस गर्ने प्रहरीको तयारी छ। त्यसअघि रविसँग थप बयान लिइनेछ। लामिछानेसँगै पक्राउ परेका अस्मिता कार्की र युवराज कँडेलसँगको बयान भने सोमबारै सकिएको चितवन प्रहरीले जनाएको छ।

सोमबार बयानका क्रममा सरकारी वकिलसँग रविले आफूलाई आरोप लगाएर पुडासैनीले बोलेको भिडियो अहिलेसम्म नहेरेको बताएका छन् । पुडासैनीकी श्रीमतीले आइतबार प्रहरी परिसर टेकुमा किटानी जाहेरी दिएकी थिइन्।

पोस्टमार्टम रिपोर्टले झुन्डिएकै कारण पुडासैनीको मृत्यु भएको देखिएको छ। पुडासैनीले मृत्युअघि रेकर्ड गरेको भिडियोमा भएको आवाज उनकै भएको फरेन्सिक ल्याब परीक्षणबाट पुष्टि भएको छ। उनको मोबाइलमा विभिन्न पाँचवटा लामा र छोटा भिडियो क्लिप रहेको प्रहरी स्रोतले जनाएको छ।