पोखरा–४ स्थित रामकृष्णटोल मिसाः पुचःले मनोसामाजिक सुरक्षा तथा अभिमुखीकरण तालिम आयोजना गर्यो ।
सोमबार आयोजित तालिम शुभारम्भ गर्दै वडाध्यक्ष शंकरप्रसाद बाँस्तोलाले वडाका महिलाहरू सक्रिय भएकोप्रति खुशी प्रकट गरे । उनले महिलाको क्षमता अभिवृद्धि तथा विकासमा वडाले सहयोग गर्ने प्रतिवद्धता जनाए ।
सिद्धार्थ क्लबका अध्यक्ष विनोद श्रेष्ठले पोखराका सबै संघसंस्थामा आवद्ध महिलाहरुले रामकृष्णटोलका महिलाबाट शिक्षा लिनुपर्ने खाँचो औंल्याए । उनले आफ्नो गास काटेर, घरधन्दाको व्यस्त समयका बाबजुद आफ्नो क्षमता विकासमा लाग्नु खुशीको कुरा भएको बताए ।
कार्यक्रममा बाल उद्धार केन्द्रकी अध्यक्ष गोमा कोइराला सुवेदीले चुलोचौकोमा सीमित महिलाहरु सक्रिय भएर अघि बढ्नु सह्रानीय भएको बताइन् ।

तालिम प्रशिक्षक, बाल तथा महिला सशक्तिकरणकी सचिव जमुना शर्माले वर्तमान परिवेशवमा मनोसामाजिक सुरक्षा तालिम अपरिहार्य भएको बताइन् ।
उनले मनोसामाजिक समस्याका कारकहरू, समस्याका लक्षणहरु, समस्याका असर र समस्या समाधानका उपायहरू बारे प्रशिक्षण दिएकी थिइन् । साथै उनले मनोविमर्श र आवश्यकता बारे समेत जानकारी गराएकी थिइन् ।
तालिममा १ सय ५० महिला सहभागी थिए ।
कार्यक्रममा सम्झौता नारी जागृति समूहकी अध्यक्ष जानुका गौतम थापा, सिद्धार्थ टोल विकास संस्थाकी अध्यक्ष सम्झना माकाजू, गैरापाटन मिसाः पुचःकी अध्यक्ष कमला श्रेष्ठ लगायतले बोलेका थिए ।
संस्थाकी अध्यक्ष भवानी माकाजूको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष मिना लिगलले स्वागत र सचिव रेनु लिगलले सञ्चालन गरेकी थिइन् ।




