नेपाल कीर्गिस्तानसँग पराजित, अब के होला ?

एशियन भलिबल कन्फेडेरेशन (एभिसी) सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगिताको उद्घाटन खेलमा नेपाल कीर्गिस्तानसँग पराजित भएको छ ।

लगनखेलस्थित त्रिभुवन आर्मी क्लबको शारीरिक तालीम तथा प्रशिक्षण केन्द्रको कभर्डहलमा आज भएको उद्घाटन खेलमा नेपाल कीर्गिस्तानसँग ३–० को सोझो सेटमा पराजित भएको हो ।

कीर्गिस्तानसँग नेपाल पहिलो सेटमा २५–२३ ले पराजित भयो भने दोस्रो २५–२२, तथा खेलको तेस्रो तथा अन्तिम सेटमा पनि समान २५–२२ ले पराजित हुन पुग्यो । फाइनल पुग्ने लक्ष्य लिएर मैदान उत्रेको नेपाली टोली उद्घाटन खेलमा नै पराजित हुन पुग्यो ।

यस जीतसँगै समूह ‘ए’ मा रहेको कीर्गिस्तानले सेमिफाइनलमा पुग्ने सम्भावनालाई बलियो बनाएको छ । २ अंक जोडेको कीर्गिस्तानले भोलि माल्दिभ्ससँग खेल्नेछ । हारसँगै नेपाललाई सेमिफाइनलको यात्रा तय गर्न दबाब बढेको छ ।

यही भदौ ४ गते बुधबार हुने माल्दिभ्स विरुद्वको खेलमा नेपालले जीत हासिल गरे सेमिफाइनल यात्रा तय गर्नेछ ।

नेपालले पहिलोपटक आयोजना गरेको उक्त प्रतियोगितामा ७ राष्ट्रको सहभागिता छ । आयोजक नेपालसहित बङ्गलादेश, माल्दिभ्स, अफगानिस्तान, कीर्गिस्तान, तुर्कमेनिस्तान र उज्वेकिस्तान छन् ।

प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपालको समूहमा कीर्गिस्तान र माल्दिभ्स छन् भने समूह ‘बी’मा तुर्कमेनिस्तान, बङ्गलादेश, उज्वेकिस्तान र अफगानिस्तान छन् ।