पूर्वराजदूत झा हत्या प्रकरणः सुरक्षागार्ड तामाङ पुनः पक्राउ

पूर्वराजदूत केशवराज झा हत्या प्रकरणमा प्रहरीले पुनः सुरक्षागार्ड कान्छाराज तामाङलाई पक्राउ गरेको छ । उनलाई काभ्रेको खोपासीबाट पक्राउ गरिएको महानगरीय अपराध अनुसन्धान महाशाखाका एसएसपी सहकुलबहादुर थापाले बताए ।

तामाङविरुद्ध झा पत्नी ज्ञानुले काठमाडौं प्रहरी परिसर, टेकुमा किटानी जाहेरी समेत दिएकी थिइन् । जाहेरीको आधारमा ज्यान मुद्दामा जिल्ला अदालत, काठमाडौँबाट ७ दिन म्याद थप गरिएको काठमाडौं प्रहरीका डीएसपी होविन्द्र बोगटीले बताए ।

गत वर्ष ४ भदौमा ८० वर्षीया झाको आफ्नै घरभित्र बन्द कोठामा छुरी प्रहार गरी हत्या भएको थियो । लगत्तै, अनुसन्धानका लागि सुरक्षागार्ड तामाङसहित माली आइतेसिंह तामाङ र जयबहादुर गुरुङलाई पक्राउ गरिएको थियो ।

तर, उनीहरुविरुद्ध प्रमाण फेला नपरेपछि तीनै जना छुटेका थिए । सुरक्षागार्डको पोलिग्राफ परीक्षणमा भने शंका गर्नुपर्ने आधारहरु भेटिएको प्रहरीले दाबी गरेको थियो ।