ताजा समाचार

भाद्र १ गते २०७६

भिमसेनटोललाई तायःमचा नृत्यको उपाधि

गाइजात्रा पर्वको अवसरमा पोखरामा आयोजित तायःमचा नृत्य प्रतियोगिताको उपाधि भिमसेनटोल तायःमचा समितिले जितेको छ ।

प्रतियोगिता नेवाः खल कास्कीको आह्वानमा महेन्द्रपुल तायमचा समिति पोखराले आयोजना गरेको हो । जितसंगै भिमसेनटोलले नगद ३० हजार नगद पुरस्कार प्राप्त गरे ।

विजयी टोलीलाई नेवाः खल कास्कीका अध्यक्ष अशोक पालिखे, महेन्द्रपुल तायमचा समितिका अध्यक्ष ओमलाल बड्गामी र प्रतियोगिताका संयोजक मानकाजी माकाजुले पुरस्कार प्रदान गरेका थिए ।

प्रतियोगितामा दोस्रो हुन सफल तेर्सापट्टी तायःमचा समितिले २० हजार, तृतीय हुन सफल नयाँबजार तायःमचा समिति १० हजार र सान्त्वना स्थान हासिल गर्न सफल रानीपौवाले ५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्यो ।

यसैगरी महिला टोलीको उपाधि भने बागवजार कचाः खलले जित्दै १५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्यो । विधागत अन्तर्गत उत्कृष्ट ख्यालीको विजेता रानीपौवा, बाद्यबादन कुँडहर, उत्कृष्ट परि मोहोरियाटोल र उत्कृष्ट जोकर भिमसेनटोलले जितेको छ । प्रतियोगितामा पोखराका विभिन्न टोलका ३० टोलीले प्रतिस्पर्धा जनाएका थिए ।

पोखराको महेन्द्रपुल सडकमा २ दिनसम्म चलेको महोत्सवको पहिलो दिन शुक्रबार नेवारी साँस्कृतिक नृत्य, वाजा, तथा साँस्कृतिक कार्यक्रम भएको थियो ।

लाइभ कन्सर्ट अन्तर्गत मौलिक बाजाका लागि ख्यातिप्राप्त लक्ष्य व्याण्ड, तन्त्र व्याण्ड तथा देउराली व्याण्डको प्रस्तुतिमा दर्शक झुमेका थिए । चेतनामूलक साँस्कृतिक फेशन साले पनि दर्शकलाई मन्त्रमूग्ध पारेको थियो ।

महेन्द्रपुल तायमचा समितिका अध्यक्ष ओमलाल बडगामीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुव्वा गुरुङले गरेका थिए ।

पोखरामा तायमचा नृत्य प्रतियोगिता गर्ने चलन वि.सं २०२६ सालमा शुरु भएको हो ।
२०३८ सालमा युनेस्को क्लब, २०३९ सालमा सिद्धार्थ क्लब र महेन्द्रपुलका युवाहरूले प्रतियोगिता गराएका थिए ।

नेवाः खलः कास्कीले २०५६ सालदेखि पोखरामा विभिन्न टोलहरुमा पालैपालो तायमचा नाच प्रतियोगिता आयोजना गर्दै आएको छ । यो पटकको जिम्मा महेन्द्रपुलले पाएको हो ।


Loading...