ताजा समाचार

भाद्र १ गते २०७६

रवि लामिछानेविरुद्ध प्रहरीमा किटानी जाहेरी

माउण्टेन टेलिभिजनका पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा छानबिनका लागि पक्राउ परेका सञ्चारकर्मी रवि लामिछानेविरुद्ध पुडासैनीको परिवारले किटानी जाहेरी दिएका छन् । शनिबार १३ दिनको काजक्रिया सकेर आइतबार उजुरी दिइएको परिवारले जनाएको छ ।

पुडासैनीका परिवारले महानगरीय प्रहरी परिसर काठमाडौंमार्फत लामिछानेसहित सोही प्रकरणमा पक्राउ परेका ‘सिधा कुरा जनतासँग’ नामको टेलिभिजन कार्यक्रममा कार्यरत युवराज कँडेल र स्टाफ नर्स ओखलढुङ्गाकी अस्मिता कार्कीविरुद्ध किटानी जाहेरी दिएका हुन् ।

मृतक पुडासैनीको पत्नी श्रीमती सम्झना घिमिरे पुडासैनीले प्रहरीमा आफैं उपस्थित भई किटानी जाहेरी दिएकी हुन् । किटानी जाहेरीमा उनले आफ्ना श्रीमानलाई लामिछाने, कँडेल र कार्कीले आत्महत्या गर्न बाध्य पारेकाले उनीहरुमाथि मुलुकी अपराध संहिताको दुरुत्साहनअन्तर्गत कारबाही गर्न माग गरेकी छन् ।

दुई साताअघि पुडासैनीले चितवनको होटल कंगारुमा आत्महत्या गरेका थिए । पुडासैनीले आत्महत्या गर्नुअघि आफैले खिचेको मोवाइल भिडियोमा रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीको कारण आफु आत्महत्या गर्न बाध्य भएको उल्लेख गरेका थिए । उक्त भिडियो बाहिरिएपछि प्रहरीले आत्महत्या दुरुत्साहन गरेको अभियानमा लामिछाने सहित ३ जनालाई नै पक्राउ गरेर चितवन पुर्याएको थियो । जिल्ला अदालतले ५ दिन अनुसन्धानमा राख्न अनुमति दिएको थियो ।


Loading...