श्रीपति कोइराला गुठीको अध्यक्षमा लक्ष्मण कोइराला

पोखरास्थित श्रीपति कोइराला गुठीको अध्यक्षमा लक्ष्मणप्रसाद कोइराला चयन भएका छन् । उनी समितिका पूर्व सचिव हुन् ।

गुठीको शनिबार भएको २७औं साधारणसभा तथा १० औं अधिवेशनबाट लक्ष्मण अध्यक्षमा चयन भएका हुन् ।

अध्यक्ष पदमा लक्ष्मण कोइरालासहित, रमेश कोइराला, हरिप्रसाद कोइराला र अनन्तप्रसाद कोइरालाले चाहना गरेका थिए । अन्तिममा गुठीका अग्रजहरूको प्रयासमा सहमति गरी लक्ष्मणलाई अध्यक्षमा चयन गरिएको हो ।

यसैगरी संस्थाको उपाध्यक्षमा फडिन्द्रराज कोइराला चयन भएका छन् । उनी निवर्तमान सचिव थिए । गुठीको सचिवमा यसअघि सहसचिव रहेका नवराज कोइराला, सहसचिवमा सुरेन्द्र कोइराला र कोषाध्यक्षमा नारायण कोइराला चयन भएका छन् ।

यस्तै कार्यसमिति सदस्य पदमा राजेन्द्र कोइराला, वसुन्धरा कोइराला, सूर्यप्रसाद कोइराला, वासुदेव कोइराला चयन भए ।

पूर्व अध्यक्ष यज्ञनाथ कोइराला संयोजक, विजयलक्ष्मी कोइराला र कल्पना कोइराला सदस्य रहेको निर्वाचन समितिले गुठीको निर्वाचन सम्पन्न गरेको हो ।

अध्यक्षमा निर्वाचित भएपछि लक्ष्मण कोइरालाले गुठीलाई थप गतिशील बनाउने र श्रीपतिको योगदानलाई अझै उजागर गर्न भूमिका खेल्ने बताए । साथै उनले कोइराला बन्धुबीच एकता र भाइचरा सम्बन्ध विस्तार गर्न आफू सक्रिय भएर लाग्ने प्रतिवद्धता जनाए ।

यसअघि सभामा संस्थाका सचिव फडिन्द्रराज कोइरालाले प्रस्तुत गरेको वार्षिक एवं कोषाध्यक्ष प्रकाश कोइरालाले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित भएको थियो । कार्यक्रममा गुठीका अग्रज हेरम्वप्रसाद कोइराला, रमेश कोइराला, रामजीप्रसाद कोइराला, कृष्णप्रसाद कोइराला लगायतले बोलेका थिए ।

संस्थामा अध्यक्ष मोहननाथ कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा स्वगात उपाध्यक्ष रमा कोइरालाले स्वागत र सचिव फडिन्द्रराज कोइरालाले सञ्चालन गरेका थिए ।

१८९९ मा स्थापना तथा २०४९ सालमा विधिवत दर्ता भएको संस्थामा हाल ३ सय ५६ जना सदस्य आवद्ध छन् ।

यसअघि भैरव कोइराला, शालिकराम कोइराला, कृष्णप्रसाद कोइराला, हेरम्वप्रसाद कोइराला, यज्ञनाथ कोइराला, रामचन्द्र कोइराला, विष्णुचन्द्र कोइराला र मोहननाथ कोइरालाले नेतृत्व गरिसकेका छन् ।