२४ घण्टाभित्र भारी वर्षा र चट्याङ्गको खतरा !

जल तथा मौसम पूर्वानुमान महाशाखाले अहिले देशका अधिकांश स्थानहरुमा सामान्य बदली रही पूर्व र पश्चिमका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जनाएको छ ।  आज आइतबार देशका धेरैजसो स्थानमा सामान्यतया बदली रही पश्चिमी क्षेत्रका अधिकांश स्थान  र पूर्वी तथा मध्य क्षेत्रका केही स्थानमा मेघ गर्जन र चट्याङ्गको सम्भावना रहेको जनाइएको छ । 

देशको पूर्वी र पश्चिमी भागको केही स्थानमा भारी वर्षाको सम्भावना रहेको समेत पूर्वानुमान महाशाखाले उल्लेख गरेको  छ । मनसुनको न्युन चापी रेखा औसत स्थानको आसपासमा रहेको पूर्वानुमान गरिएको छ । 

साथै भारतको उत्तर पूर्वी राजस्थान तथा हरियाणातिर निम्न चापीय प्रणाली अवस्थित रहेको जनाउँदै पूर्वानुमान महाशाखाले आगामी २४ घण्टामा केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहितको वर्षा हुने सम्भावना रहेकोले त्यसबाट बच्नका लागि  आवश्यक सतर्कता अपनाउन पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । 

देशको पहाडी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको र त्यसले सडक यातायातमा पहिरो र भूक्षयका कारण अवरोध आउन सक्ने भएकोले पहाडी भूभागमा यात्रा गर्दा सामान्य सतर्कता अपनाउन समेत महाशाखाले अनुरोध गरेको छ ।  पूर्वानुमान महाशाखाले भोलि भदौ २ गते र पर्सि ३ गतेपनि मौसम बदलीको सम्भावना रहेको जनाएको छ ।
यसैबीच जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आज र भोलि वागमती, पश्चिम राप्ती, बबई र महाकालीमा पानीको वहाव बढ्ने  तथा केही सहायक नदीमा सतर्कता स्थानमा पुग्ने जनाएको छ ।  आज काठमाडौं र आसपास, कैलाली, कञ्चनपुर लगायत प्रदेश २,५ र सुदूरपश्चिमको चुरे तथा पहाडबाट बहने केही साना नदीमा आकष्मिक वहावको सम्भावना रहेको समेत जनाइएको छ । 
केही बेर अघि बाढी पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिनमा आज बिहानको मापन अनुसार कोशी, नारायणी र यसका केही सहायक नदीहरु तथा महाकाली लगायतका नदीमा वहाव सामान्य बढ्दो क्रममा रहेको तथा कन्काई कमला, बाग्मति, पश्चिम राप्ति, बबई, कर्णाली लगायतका नदीहरुमा वहाव स्थिर वा सामान्य घट्दो अवस्थामा रहेको जनाइएको छ । सबैजसो नदीहरुमा वहाव सतर्कता तह भन्दा तलै रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।