नेपाल उद्योग वाणिज्य महासंघको विशेष साधारण सभा कात्तिक २९ गते

नेपाल उद्योग वाणिज्य महासंघले आगामी कात्तिक २९ गते महासंघको विशेष साधारण सभा बोलाउने निर्णय गरेको छ ।

शुक्रबार बसेको महासंघको कार्यकारिणी बैठकले विधान संशोधनको लागि विशेष साधारण सभा बोलाउने निर्णय गरेको छ।

यो निर्णयमा निवर्तमान अध्यक्ष पशुपति मुरारका र वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले भने असहमति जनाउँदै फरक मत राखेका छन् ।

महासंघका प्रदेश नं ३ का प्रदेश अध्यक्ष दिनेश श्रेष्ठका अनुसार कार्यकारिणी समितिले तोकेको मितिभन्द १५ दिन अघि विधान समितिले बुझाएको प्रतिवेदन सबै सदस्यहरुसँग छलफल गरी सदस्यहरुको राय बुझेर विशेष साधारणसभामा पेश गर्नको लागि कार्य समितिमा पेश गर्ने गरिन्छ । सोही समयमा नै विशेष साधारण सभाको एजेण्डा तयार पारिन्छ । 

यस पटक महासंघको वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने व्यवस्थालाई संशोधन गरेर अध्यक्ष र वरिष्ठ उपाध्यक्ष दुबै निर्वाचनबाट चुनिने व्यवस्था गर्न लागिएको छ ।

अहिलेको नीति अनुसार वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा अध्यक्ष बन्ने निश्चित छ । विशेष साधारण सभाले अध्यक्ष पनि यही कार्यकालदेखि लागू हुने नीति पारित गरेको खण्डमा उनी फेरि निर्वाचित भएर मात्रै अध्यक्ष बन्न पाउनेछन्।