तीज मनाउने खर्च गरिब विद्यार्थीलाई

पोखरा लेकसाइडका महिलाले तीजमा गरिने खर्च कटाएर गरिब विद्यार्थीलाई सहयोग गरेका छन् । उनीहरुले ल्यान्डफिल साइडमा काम गर्ने गरिब विद्यार्थीलाई सहयोग गरेका हुन् ।

लेकसाइडको मितेरी नारी समूहले रोल्पा स्थाई घर भई पोखराको ल्यान्डफिल साइडमा काम गर्दै स्कुल पढ्ने सुबिना र्घर्तीमगरलाई सहयोग गरेका हुन् । १२ वर्ष सुबिना मझेरी पाटनको रामेश्वरी माविमा कक्षा ६ मा पढ्छिन् ।

समूहका अध्यक्ष मीरा पौडेल तीज सबै महिलाको समान उत्सवको पर्व भएका बताउँछिन् । ‘हामीले पनि उत्सवमा रमाइलो गर्ने पैसा अर्को नारीको खुसीका लागि लगानी गर्ने निर्णय गरेका छौं,’ उनले भनिन्, ‘नारीको वेदना नारीले नै बढी बुझ्नु पर्छ । सुबिनाको १० जोड २ सम्मको अध्ययनका लागि लाग्ने सबै खर्च बेहोर्ने निर्णय गरेका हौं ।’ आउँदा दिनमा अन्य फजुल खर्च पनि कटौति गर्ने अभियान चलाउने उनले बताइन् । सुबिनालाई चाहिने पोशाक, स्टेसनरी र अध्ययनका लागि आवश्यक खर्च समूहले व्यहोर्ने भएको छ ।

सुविनाका बाबुआमा १७ वर्षदेखि ल्यान्डफिल साइडमा काम गर्छन् । स्कुल बिदा हुँदा सुबिना पनि बाआमालाई सघाउँछिन् । नारी जागरण अभियान पोखराको अनुरोधपछि गण्डकी प्रदेश सरकार र केही जिल्ला जिल्ला प्रशासनले समेत तीज सनातन परम्परा अनुसार मनाउन अनुरोध गर्दै सूचना निकालेका छन् ।