पोखराको महेन्द्रपुलचोक-पालिखेचोक सडक २ दिन बन्द !

पोखराको मुख्य र व्यस्त बजार महेन्द्रपुल–पालिखेचोक सडक बन्द गरिएको छ । उक्त सडक आज शुक्रबार र भोलि शनिबार गरी २ दिन पूर्ण रुपमा बन्द हुनेछ ।

महेन्द्र्रपुल तायः मचा समिति पोखराले तायः मचा नृत्य तथा गाईजात्रा महोत्सवका लागि उक्त सडक बन्द गराएको हो ।

उक्त सडक बन्द गरिएपछि चिप्लेढुंगा, सिद्धार्थचोक, गैरापाटन, तेर्सापट्टीको सडकमा सवारी आवागमन असहज भएको छ । उक्त सडक बन्द गरिनु र विभिन्न स्थानबाट गाइजात्राका झाँकी र्याली निकालिएका कारण पोखराको सडक अस्तव्यस्त बनेको छ ।

यद्यपि महेन्द्र्रपुल तायः मचा समिति पोखराले यसप्रति क्षमा मागेको छ । तायाः मचा नृत्य प्रतियोगिता तथा गाइजात्रा महोत्सव मूल समारोह समितिका संयोजक मानकाजी माकाजूले महेन्द्रपुल र पालिखेचोक गरी दुवै ठाउँमा ४ वटा सूचना बोर्ड राखेर क्षमा मागेका हुन् ।

सूचना बोर्डमा भनिएको छ, ‘तायाः मचा नृत्य प्रतियोगिता २०७६ का लागि साउन ३१ र ३२ गते महेन्द्रपुल चोकदेखि माथि पालिखे चोकदेखि तल्लो बाटोमा आवागमन बन्द बन्द गरिने हुँदा बैकल्पिक बाटो प्रयोग गरि संस्कृति संरक्षणमा सहयोग गर्नुहुन हार्दिक अपिल गर्दछौं । उक्त २ दिन आवागमनमा पर्न जाने असुविधाप्रति क्षमाप्रार्थी छौं ।’

समितिले महेन्द्रपुलदेखि पालिखेचोकसम्मको सडकमा झिलिमिलि बनाएको छ । सडकको दुवैतर्फ व्यापारिक स्टलहरू र साँधुमुख चोकमा मञ्च निर्माण गरी समितिले कार्यक्रम गर्दैछ । कार्यक्रम शुक्रबार दिउँसो २ बजेदेखि शुरु हुने समितिले जनाएको छ ।