ताजा समाचार

श्रावण ३१ गते २०७६

दोषीमाथि कारबाही गर्न मुख्यमन्त्री पोखरेलको निर्देशन

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले नेकपा प्रदेश ५ का प्रमुख सचेतक भूमिश्वर ढकाल निवासमा बम विस्फोट गराउने समूहको पहिचान गरेर कारबाही गर्न निर्देशन दिएका छन् ।

बम विस्फोटको केही घण्टापछि घटनास्थल पुगेका मुख्यमन्त्री पोखरेलले घटना गम्भीर प्रकृतिको भएकाले सुक्ष्म अध्ययन गर्न प्रहरी प्रशासनलाई आग्रह गरेका छन् ।

उनले ढकालका बाबु–आमालगायत परिवारका सदस्यलाई भेट्दै विचलित नहुन आग्रह गरे । उनले सुरक्षाका लागि आवश्यक परे सुरक्षाकर्मी परिचालन गर्ने आश्वासन पनि परिवारका सदस्यलाई दिए ।

कानुनमन्त्री कुलप्रसाद केसीले आपराधिक गतिविधि सैह्य नभएको भन्दै घटनामा संलग्नको खोजी गरी कानूनी दायरामा ल्याई छाड्ने प्रतिबद्धता जनाएका छन् ।

गएराति ढकाल घरमा नभएका बेला विस्फोट भएको थियो । अज्ञात समूहले सचेतक ढकाल, उनका बाबुआमा सुत्ने कोठा र उनले प्रयोग गर्दै आएको गाडीमा बम प्रहार गरेका थिए । बम प्रहारबाट गाडीको पछिल्लो भागमा क्षति पुगे पनि कोठामा प्रहार गरिएको बम विस्फोट नहुँदा अप्रिय घटना हुनबाट जोगिएको थियो ।