ताजा समाचार

श्रावण ३१ गते २०७६

अन्तरसमाज महासंघको पार्क २ वर्षदेखि अलपत्र

पोखरा महानगरपालिका वडा नं. ११ रामघाटस्थित सेती नदी डीलमा निर्माणाधिन पार्क २ वर्षदेखि अलपत्र परेको छ । पार्क अन्तर समाज महासंघ राष्ट्रिय समिति नेपालले निर्माण गर्ने तयारी गरेको थियो ।

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको स्वामित्वमा रहेको उक्त जग्गामा अस्पतालसंग स्वीकृति लिएर महासंघले पार्क निर्माण गर्न लागेको थियो ।

पार्क निर्माण स्थल अस्पतालको पश्चिमतर्फ सेतीनदीको डिल हो । उक्त जग्गा ७ रोपनी क्षेत्रफलको छ । ६० लाख रुपैयाको लागतमा बनाउन लागिएको पार्कको शिलान्यास पोखरा महानगरका मेयर मानबहादुर जिसीले २०७४ को मंसिरमा तामझामका साथ गरेका थिए । उक्त अवसरमा नै वृहत पोखरा सरसफाइ अभियान अन्तर्गत सबै पोखरेली उत्रिएर पार्क निर्माणस्थल सफाई गरेका थिए ।

पार्क २ वर्षसम्म अलपत्र परेपछि हाल जंगलमा परिणत भएको छ । इन्टरनेट जडित फ्रि–वाइफाईसहित खानेपानी तथा शौचालय, दुबो र फूलका बिरुवा पार्कमा रोपिने सपना थियो । पार्कभित्र ४५ वटा बेञ्च र छातासहितको बस्ने चौतारी पनि बनाउने भन्ने थियो ।

महासंघकी अध्यक्ष मञ्जु पौडेल भट्टराईले महानगरको बजेट कुरेर बस्दा ढिलाई भएको बताइन् । उनले महानगरले अबको बजेटको रातो किताव कुर्न भनेकाले प्रतिक्षा गरिरहेको स्पष्ट पारिन् । अध्यक्ष भट्टराईले अब पनि महानगरले बजेट नदिएर महासंघ आँफै पार्क निर्माणमा जुट्ने स्पष्ट पारिन् । सबैले आश्वासन दिन नछाड्ने तर आश्वासन कार्यान्वयन नगरिदिंदा ढिलाई भएको उनले बताइन् ।

बजेट अभावमा पार्क निर्माण कार्य अघि बढ्न नसकेको महासंघले गठन गरेको पार्क निर्माण समिति संयोजक बलराम लामाले पनि स्वीकार गरे । पोखरा महानगरले सहयोग गर्ने आश्वासन दिए पनि बजेट पाउन नसकेको उनले बताए ।

‘पार्कका लागि नगरपालिका, वडा कार्यालय, अस्पताल प्रशासनमा सैयौं पटक धाएका छौं । गाँठो कतै फुकेको छैन । महानगरले पनि सिस्टमले ढिलाई भएको हो’, संयोजक लामाले भने, ‘महानगरले भदौमा आउने रातो किताव कुर्न भनेकाले हामी प्रतिक्षामा छौं ।’

ईन्जिनियरले जग्गाको ब्लु प्रिन्ट मागेको तर अस्पताल प्रशासन उक्त व्लु प्रिन्ट दिन आनाकानी गरिरहेको उनले गुनासो गरे । संयोजक लामाले अब महानगरले बजेट नदिए पनि महासंघमा आवद्ध सदस्य संस्थासंग रकम उठाएर भए पनि पार्क निर्माण गरेरै छाड्ने बताए । ‘यो महासंघको प्रतिष्ठाको विषय हो । अलपत्र पर्न दिंदैनौं ल। महानगरको सिस्टम कुरेकाले ढिलाइए भएको हो । अबको केही सिमयमै निर्माण थाल्छौं’, उनले भने ।

महासंघका निवर्तमान अध्यक्ष दीपेन्द्र राईले आफ्नो पालामा शिलान्यास भए पनि नेतृत्व हस्तान्तरण भैसकेको भन्दै यसको जिम्मेवारी पनि वर्तमान नेतृत्वकै हुने बताए । ‘उतिबेला धादिङ र अर्घाखाँची समाजका साथीहरूको चाहना बमोजिम मैले नेतृत्व हस्तान्तरण गरेको हुँ’, उनले भने, ‘अब ती साथीहरूसंगै पार्कका बारेमा प्रश्न सोध्ने बेला भएको छ ।’

पोखरा–११ का वडाध्यक्ष मोहन बाँस्तोलाले अन्तरसमाज महासंघले चासो नदिएपछि र ताकेता नगरेपछि पार्क निर्माण अलपत्र परेको बताए । उनले २ वर्षदेखि अलपत्र परेपछि आफूले लायन्सलाई वृक्षरोपण गर्न लगाएको र अन्य संस्थालाई भाडामा दिने सोंच बनाएको बताए ।

उनले भने, ‘महानगरले बजेट दिन आनाकानी गरेपछि महासंघ पछि हटेको देखिन्छ । वडाले यसमा समन्वय बाहेक केही गर्न सक्ने अवस्था छैन ।’

उनले पार्कका लागि आफूले पूर्ण सहयोग गरिरहेको भन्दै भदौमा महानगरबाट ल्याउने रातो कितावमा केही समेटिएर आउन पनि सक्ने बताए ।
पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानका कुलपति डा. बुद्धिबहादुर थापासंग यस विषयमा बुझ्न खोज्दा सम्पर्क हुन सकेन ।