ताजा समाचार

श्रावण ३१ गते २०७६

रवि लामिछानेलाई रातारात चितवन पुर्याइयो

बिहीबार बेलुका पक्राउ परेका पत्रकार रवि लामिछानेलाई राति नै चितवन लगिएको छ । नुवाकोटका पत्रकार शालिकराम पुडासैनीले आत्महत्या गर्नुअघि रवि लामिछानेसहितका तीन जनाको नाम उल्लेख गर्दै मर्न बाध्य बनाएको भिडियो सार्वजनिक भएपछि सोधपुछका लागि भन्दै लामिछानेलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

पुडासैनीले साउन २० गते चितवनको कंगारु होटलको कोठा नम्बर २०२ मा आत्महत्या गरेका थिए ।  महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीका अनुसार लामिछानेलाई पानीपोखरीमा रहेको टेलिभिजन कार्यालयबाटै पक्राउ गरिएको हो । 

न्युज २४ टेलिभिजनले पनि बिहीबार नै उनी पक्राउ परेको जनाउँदै उनले सञ्चालन गर्दै आएको कार्यक्रम स्थगित भएको समाचार अनलाइनमा प्रकाशित गरेको थियो ।

रविसँगै युवराज कँडेल पनि पक्राउ परेको प्रहरीले जनाएको छ । पुडासैनीले कँडेलको पनि नाम उल्लेख गरेका थिए । 

चितवन प्रहरीले काठमाडौं प्रहरीसँग समन्वय गरी पक्राउ गरेको जनाएको छ । यसअघि उक्त भिडियोमा नाम जोडिएपछि अस्मिता कार्कीलाई पनि पक्राउ गरिएको थियो । कार्कीलाई यसअघि बिहीबार दिउँसो त्रिवि शिक्षण अस्पतालबाट पक्राउ गरिएको थियो । 

प्रहरीका अनुसार पक्राउ परेका तीनैजनालाई अनुसन्धानका लागि केही दिन राखिनेछ । आजै म्याद थपका लागि अदालतमा पेस गरिने प्रहरी स्रोतले जनाएको छ ।

FacebookTwitterMore