ताजा समाचार

श्रावण ३० गते २०७६

प्रधानमन्त्री ओली पुनः बिरामी भएपछि विदेश लैजाने तयारी

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पुनः अस्वस्थ्य भएका छन् ।  साउन २७ गते सिङ्गापुरबाट उपचार गराएर फर्केका प्रधानमन्त्री ओली बिहीबार पुनः अचानक अस्वस्थ्य भएका हुन् ।  

प्रधानमन्त्रीको स्वास्थ्यमा थप समस्या देखिएपछि थप उपचारका लागि फेरि छिट्टै विदेश लैजाने तयारी भएको श्रोतले जनाएको छ ।

यसअघि सिंगापुरबाट उपचार गरेर फर्किपछि भदौ ५ गते फलोअपका लागि सिंगापुर जाने तयारी थियो । उनको अस्वस्थताका कारण बिहीबार बस्ने भनिएको क्याविनेट बैठक र पार्टी सचिवालयको बैठक समेत स्थगित भएको छ ।

साउन २८ गतेदेखि सचिवालय बैठक लगातार सर्दै आइरहेको थियो । आज ३ बजे बस्ने भनिएको बैठक चार बजेका लागि सारिएको थियो तर प्रधानमन्त्री ओलीको स्वास्थ्य अचानक विग्रेपछि बैठक स्थगित गरिएको हो ।

सचिवालय बैठकमा केन्द्रीय कार्यसमितिको कार्यविभाजन लगायतको विषयमा छलफल हुने एजेण्डा तय भएको थियो ।

कार्यविभाजनमा स्कूल विभाग कसले लिने कुरामा विवाद देखिएको छ । सो विभागका लागि प्रवक्ता नारायाणकाजी श्रेष्ठ र सचिवालय सदस्य ईश्वर पोखरेलले दावी गर्दै आएका छन् । 

स्कूल विभागको विवाद समाधान नभएका कारण अन्य विभागको जिम्मेवारी बाँडफाँड पनि सार्वजनिक गरिएको छैन ।