ताजा समाचार

श्रावण ३० गते २०७६

पेक बास्केटवल उपाधि पिएनलाई

प्रथम पोखरा इञ्जिनियरिङ कलेज अन्तर कलेज बास्केटवल प्रतियोगिता २०७६ को उपाधि पृथ्वीनारायण क्याम्पस बिबिएसले जितेको छ ।

प्रतियोगिता पोखरा इञ्जिनियरिङ कलेजस्थित स्वतन्त्र विद्यार्थी परिषदले पहिलो पटक आयोजना गरेको हो ।

प्रतियोगितामा पृथ्वीनारायण क्याम्पस बिबिएसले आयोजक पोखरा इञ्जिनियरिङ कलेजलाई ६५–४७ स्कोरले पराजित गर्दै उपाधिसहित ३० हजार नगद प्राप्त गर्यो ।

१५ कलेज सहभागी प्रतियोगिताको उपविजेता पोखरा इञ्जिनियरिङ कलेजले १५ हजार नगद, ट्रफी, मेडल प्रमाणसहित पुरस्कृत भयो । साउन २८ गतेबाट शुरु भएको प्रतियोगितामा पृथ्वीनारायण क्याम्पसका डिमन पुन सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै पुरस्कृत भए ।

विजेतालाई गण्डकी प्रदेशकी उपसभामुख सृजना शर्मा, विशेष अतिथि कलेजका प्रमुख इञ्जिनियर लेखबहादुर गुरुङ, प्रमुख प्रशासक चिजकाजी गुरुङ, बास्केटबल संघ कास्कीका अध्यक्ष धोजकुमार गुरुङ र स्वतन्त्र विद्यार्थी परिषदका सभापति किशोर सुवेदीले पुरस्कार वितरण गरेका थिए ।

कार्यक्रममा उपसभामुख सृजना शर्माले खेलाडीलाई आफ्नो प्रतिभा प्रस्फुटनका साथै खेलबाट राष्ट्रलाई योगदान पुर्याएको बताइन् ।

खेलले नाम र पहिचान दिने भन्दै उनले युवा तथा खेलाडीले उँचो मनोबलका साथ खेल मार्फत मुलुक समृद्धिमा सघाउन आग्रह गरिन् ।

कलेजका प्रमुख इञ्जिनियर लेखबहादुर गुरुङले खेलकुदसँगै हरेक क्षेत्रमा विद्यार्थी उत्कृष्ठता हासिल गर्ने पहल गर्नुपर्ने बताए ।

उनले कलेजको विद्यार्थी परिषदले पहिलो पटक अन्तरकलेज बास्केटबल आयोजना गरेर विद्यार्थीको खेल कौशल प्रस्तुतका साथै कलेज कलेजको सम्बन्ध गाँस्न योगदान पुर्याएको भन्दै खुशी व्यक्त गरे ।

बास्केटबल संघ कास्कीका अध्यक्ष धोजकुमार गुरुङले खेलकुदले अुनशासन, नेतृत्व विकास, टिमवर्क, प्रतिभा प्रष्फुटनका साथै आफ्नो र राष्ट्रको पहिचान गराउने बताए ।

पोखरा इञ्जिनियरिङ कलेज, स्वतन्त्र विद्यार्थी परिषदका सभापति किशोर सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा प्रतियोगिता संयोजक सागर रानाभाट (समिप) ले स्वागत र परिषदका सदस्य सलिना गौतमले कार्यक्रम सञ्चालन गरेका थिए ।