ताजा समाचार

श्रावण ३० गते २०७६

एनसेल लाभकर : सर्वोच्च अदालतले आज के गर्ला ?

निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल प्रालिको लाभकरसम्बन्धी मुद्दाको फैसला आज सुनाइने भएको छ ।

सर्वोच्च अदालतका न्यायाधीशहरु तेजबहादुर केसी, पुरुषोत्तम भण्डारी, डम्बरबहादुर शाही, सुष्मालता माथेमा र डा. मनोजकुमार शर्माको बृहत् पूर्ण इजलाशमा सो मुद्दाको पेशी चढेको छ । 

यसअघि निर्णय सुनाउने भन्दै असार २२ र साउन २१ गते दुईपटक पेशी चढे पनि निसु (निर्णय सुनाउने) सरेको थियो ।

०७६ वैशाख २५ गते एनसेल प्राइभेट लिमिटेडले ठूला करदाता कार्यालय हरिहरभवन ललितपुर समेत र ओम प्रकाश भट्टराई कर अधिकृत ठूला करदाता कार्यालय हरिहरभवन ललितपुरलाई प्रतिवादी बनाई रिट दायर गरेको थियो । 

एनसेलको ८० प्रतिशत सेयर खरिद–बिक्री हुँदा भएको लाभकर छलीको मुद्दा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासहितको पूर्ण इजलासले यसअघि नै फैसला गरिसकेको थियो ।

तर, रिटको क्षेत्राधिकार अन्तर्गत एनसेलको रिट पुनः सर्वोच्च अदालतमा दर्ता भएको थियो । एनसेलले मुद्दामा आफूले लाभकर छुट पाउनुपर्ने जिकिर गरेको छ । 

प्रधानन्यायाधीश राणा र न्यायाधीशहरू मीरा खड्का, विश्वम्भरप्रसाद श्रेष्ठ, आनन्दमोहन भट्टराई र टंकबहादुर मोक्तानको बृहत् पूर्ण इजलासले २०७५ माघ २३ गते एनसेलले लाभकर तिर्नुपर्ने फैसला सुनाएको थियो ।

बृहत् इजलाशले कर नतिरेसम्म कसैलाई पनि लाभांश वितरण र सेयर बिक्री अनुमति नदिनू भन्ने परमादेश जारी गरेको थियो । 

सो फैसलापछि ठूला करदाता कार्यालयले एनसेलमाथि ६२ अर्ब ६३ करोड रुपैयाँ कर निर्धारण गरेको थियो ।  

एनसेलले १४ अर्बमात्र आफूले तिर्नुपर्ने दायित्व हुने दाबी गर्दै ठूला करदाता कार्यालयको निर्णयलाई चुनौती दिएको थियो ।

उक्त निवेदनमा सुनुवाई गर्दै सर्वोच्चको एकल इजलासले कर निर्धारण मनासिव नदेखिएको भन्दै वैशाख १३ गते अन्तरिम आदेश जारी गरेको थियो ।

न्यायाधीश बमकुमार श्रेष्ठको इजलाशले एनसेलसँग तत्काल कर असुल नगर्न ठूला करदाता कार्यालयको नाममा अन्तरिम आदेश जारी गरेको थियो।

२०७४ जेठ २१ गते दाखिला गरेको २ अर्ब २६ करोड २३ लाख ४ हजार ८ सय ५१ रुपैयाँ घटाएर माग गर्ने भनिएपछि उक्त प्रक्रिया अवलम्बन नभएको भन्दै दुबै पक्षबीच छलफल नभएसम्म कर असुल नगर्न सर्वोच्चको आदेश थियो ।