ताजा समाचार

श्रावण ३० गते २०७६

विदेशीलाई बच्चा बेचेबापत ८ हजार पाउन्ड ‘डिमान्ड’

बुधबार बिहान नेपाल बाल मन्दिरका निर्देशक बालकृष्ण डंगोल बालबालिका बेचविखनको आरोपमा पक्राउ परेका छन् ।

डंगोललाई महानगरीय प्रहरी परिसर काठमाडौंको विशेष टोलीले नक्सालस्थित बाल मन्दिरको गेटअगाडिबाट पक्राउ गरेको हो । 

डंगोल पक्राउ परेको पुष्टि गर्दै परिसरका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले नेपालको सबैभन्दा पुरानो बाल संगठन (बाल मन्दिर) मातहत ४ सय भन्दा बढी बालबालिकहरु रेखदेखमा रहेको जानकारी दिए । 

बाल मन्दिर जस्तो पवित्र संस्थाको निर्देशक तहमा रहेका डंगोल २०६० सालदेखि उपनिर्देशक हैसियतमा थिए भने अहिले निर्देशकको हैसियतमा कार्यरत थिए । 

डंगोलले एउटा भर्खरै जन्मेको बच्चालाई ब्रिटिश नागरिक डोना स्मिथलाई बिक्री गरेको प्रहरीको अनुसन्धानबाट खुल्न आएको डीएसपी बोगटीले बताए । डीएसपी बोगटीले भने, ‘डंगोलले कपिलवस्तुकी विवाह नभएको आमाबाट जन्मिएको बच्चा डोना स्मिथलाई बेचेको पाइएको छ ।’  

डंगोलले २८ जुलाई अर्थात साउन १२ गते ३६ वर्षीया ब्रिटिश नागरिक डोना स्मिथलाई बच्चा बेचेको पाइएकाे उनकाे भनाई छ । 

डंगोलले  बच्चा कानुनअनुसार आफ्नो बनाउन मिल्छ भन्दै ब्रिटिश नागरिक स्मिथलाई बेचेको पाइएको डीएसपी बोगटीले बताए । बोगटीले भने, ‘बच्चा एडप्ट गर्न आवश्यक सम्पूर्ण कागजातहरु म मिलाईदिन्छु भन्दै डंगोलले सम्पूर्ण कागजातहरु पनि तयार पारेको पाइएको छ ।’

बच्चा एडप्टको कागजात तयार पारेबापत डंगोलले ब्रिटिश नागरिक डोना स्मिथसँग ८ हजार पाउन्ड डिमान्ड गरेको प्रहरीको अनुसन्धानबाट खुल्न आएको छ । जसमध्ये नेपाली ४ लाख चाहिँ हात पारिसकेकाे प्रहरीको भनाई छ । 

डंगोलले बच्चा एडप्टको आवश्यक पर्ने सम्पूर्ण डकुमेन्टहरु तयार पारेपछि ती डकुमेन्टहरुसहित स्मिथले बच्चालाई ब्रिटिश दूतावासमा लगेर यो मेरो बच्चा भन्दै ‘अन्नाबेला लक्ष्मी श्रेष्ठ स्मिथ’को नाम दिइएको पाइएको छ । १२ दिनको बच्चाको ब्रिटिश पासपोर्ट पनि बनाइएको छ । -रातोपाटीबाट


Loading...