ताजा समाचार

श्रावण २९ गते २०७६

महिला पर्यटन व्यवसायी मञ्चको स्थापना दिवस

महिला पर्यटन व्यवसायी मञ्च (वोटेफ) आफ्नो स्थापना दिवस पोखराबाट स्याङ्जाको बालगृहमा पुगेर मनाएको छ ।

‘आर्थिक विकासका लागि पर्यटन व्यवसायमा महिला’ भन्ने उद्घोषका साथ २ वर्ष अघि स्थापना भएको थियो । संस्थाले आफ्नो दोस्रो वार्षिकोत्सव कटुजे स्वाराँ स्याङ्जास्थित अमोर सेवा नेपाल, बालगृहमा पुगेर खाद्यान्न, खेलकुद र शैक्षिक सामग्री वितरण गर्दै बालबालिकासँग केक काटेर मनाएको हो ।

कार्यक्रममा संस्थाका सल्लाहकार एवं नेकपा एमाले नेतृ देवका पहारीले पोखराबाट स्याङ्जाको बालगृहमा आएर उनीहरूको माझ संस्थाले आफ्नो स्थापना दिवस मनाउनु सकारात्मक भएको बताइन् ।

कुनै पनि संरक्षण विहीन बालबालिकाको पहिलो संरक्षणको जिम्मा राज्यको हुने भएकाले राज्यले नै आफ्नो कर्तव्य पूरा गर्नुपर्ने बताइन् । मानव सर्वश्रेष्ठ प्राणी भएकाले पनि कठिन परिस्थितिमा रहेकालाई सहयोग गरेर अगाडि बढ्नु मानवीय कर्तव्य भएको उनको भनाइ थियो ।

मञ्चका अध्यक्ष जमुना पराजुलीले पर्यटन क्षेत्रमा आवद्ध महिलाको क्षमता अभिवृद्धि र व्यवसायिक पहिचान स्थापित गर्दै अगाडि बढेको संस्था सामाजिक सेवामा समेत उत्तिकै सक्रिय रहेको बताइन् ।

उनले मानव सेवा नै ठूलो धर्म भएकाले अभिभावक विहीन बालबालिकाको साथमा स्थापना दिवस मनाउन आएको बताइन् ।

बालबालिकाको अध्ययनमा सहयोग पुगोस् भन्ने उद्देश्यले सदस्यबाट संकलित रकमबाट सहयोग सामाग्री हस्तान्तरण गरेको उनको भनाइ थियो । पराजुलीले आगामी दिनमा पनि संस्थाले सहयोगलाई निरन्तरता दिने बताइन् ।

अमोर सेवा नेपालका अध्यक्ष कमला पराजुलीले पोखरादेखि आश्रय लिएका छोराछोरीलाई सम्झेर सहयोग गर्न आएकोमा महिला पर्यटन व्यवसायीको टोलीलाई धन्यवाद दिइन् ।

२०६८ सालमा स्थापना भएको जिल्लाको १ मात्र बालगृह भएकोले स्थानीय तहले सहयोग गरे बाहिरी सहयोगको जरुरी नपर्ने उनको भनाइ थियो ।

४ आनामा निर्मित साढे २ तले पक्की भवनमा अहिले ४ वर्षदेखि १६ वर्ष सम्मको २३ जना बालबालिका रहेको उनले जानकारी दिइन् । उनले विदेशी सहयोग विना आफ्नै नेपाली नागरिकको पवित्र सेवाले संस्थालाइ चल्दै आएको बताइन् ।

सामाजिक उत्तरदायित्व बहन गर्दै आइरहेको संस्थाले यसवर्ष अनाथ र असहाय बालबालिकाको साथ सहयोग सामाग्री लिएर कार्यसमितिसहित १८ जनाको टोली बालगृह पुगेको संस्थाका उपाध्यक्ष एवं संयोजक पार्वती पाण्डेले जानकारी दिइन् ।