ताजा समाचार

श्रावण २९ गते २०७६

दुव्र्यसन विरुद्ध आमासंग प्रहरी


बागलुङमा लागूऔषध दूव्र्यसनीको संख्या बढ्दै जान थालेपछि प्रहरीले दुव्र्यसनविरुद्ध आमाहरुसंग प्रहरी कार्यक्रम थालेको छ । बढ्दो लागूऔषध कारोबार तथा प्रयोगलाई निरुत्साहित गरी सुसम्भ्य समाज निर्माणका लागि समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत यो अभियान सुरु गरिएको हो । अभियान सुभारम्भ कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरिक्षक नवराज भट्टले लागूऔषधका कारण छोराछोरी बिग्रीएका कारण परिवारले पीडा व्यहोर्नुपर्ने भएकाले आमाहरुसंग मिलेर यो अभियान सुरु गरिएको बताए ।

‘किशोर अवस्थामा साथीभाईको संगत र लहलहैले धेरैका सन्तान लागूऔषध प्रयोग गरेर बिग्रीने गरेको पाईन्छ,’ उनले भने,‘यो विषयमा सबैभन्दा बढि पीडा आमालाई हुन्छ र यो बारेमा सबैभन्दा पहिले जानकारी पनि आमालाई नै हुन्छ । आमासंगको सहकार्य सबैभन्दा प्रभावकारी हुने ठहरपछि यो कार्यक्रम बनाएका हौं ।’ आफ्नो छोराछोरी लागूऔषधको कुलतमा फसेको छ भन्ने स्वीकार नगर्दा समस्या झन् बल्झिएको उनको भनाई छ । ‘प्रहरीलाई भन्यो भने लगेरमा जेलमा हाल्दिन्छ भनेर पनि परिवारले आफ्नो सन्तानले प्रयोग गरेको थाहा हुँदा हुँदै पनि स्वीकार गर्दैनन्,’ उनी भन्छन्,‘यो अभियानमा हामी टेष्ट किटको प्रयोग गर्दैछौं । त्यसले एक महिनासम्म कुन प्रकारको लागूऔषध प्रयोग गरेको हो भन्ने देखाउँछ । त्यस आधारमा सुधारका लागि प्रयास गर्छौं ।’


बागलुङ जिल्लामा १४÷१५ वर्षदेखि २४÷२५ वर्षसम्मका किशोर र युवाहरु लागूपदार्थ सेवनमा फस्ने गरेको उनले जानकारी गराए । उनले आफ्नो छोराछोरी ठिक छ भनेर आफन्तमा भएको समस्यालाई नजर अन्दाज नगर्न समेत आग्रह गरे । ‘मेरो छोराछोरीले प्रयोग गर्दैन, छिमेकीकोमा भएर केही हुँदैन भन्ने नसोच्नुस्,’उनले भने,‘छिमेकीकोमा लागेको आगोले एक दिन तपाईको घर पनि जलाउन सक्छ । यो कुनै परिवारको मात्र समस्या होईन, यो त समाज र राष्ट्रकै समस्या हो । सबै मिलेर समाधान गरौं ।’ अभियानको सुभारम्भ गर्दै प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले सबैको साझा संकल्पबाट मात्र दुव्र्यसन रहित स्वच्छ समाजको निर्माण सम्भव रहेको बताए ।


‘आज हामीले यो अभियानको सुभारम्भ गरेका छौं, यसको सफलताका लागि सबैले भूमिका खेल्नुपर्छ,’ उनले भने,‘समाजलाई पवित्र र स्वच्छ बनाउने जिम्मा केवल प्रहरी प्रशासनको मात्र होईन । यसमा तपाई हामी सबैले हातेमालो गरेर अगाडी बढ्नुपर्छ ।’ सरकारले ल्याएको सुखी नेपाली समृद्ध नेपालको नारालाई सार्थक तुल्याउन पनि दुव्र्यसन रहित समाजको आवश्यकता पर्ने बताए । ‘हामीले तिब्र गतिमा आर्थिक वृद्धिको संकल्प पूरा गर्नुपर्नेछ,’ प्रजिअ क्षेत्री भन्छन्,‘त्यसलाई पूरा गर्नका लागि सबै नागरिक कुलत र दुव्र्यसनबाट टाढा हुनुपर्छ ।’ भविष्यका कर्णद्धार भनिने विद्यार्थीहरु लागूऔषधको सेवनमा फस्ने गरेको भेटिनु दुःखद भएको उनको भनाई छ ।


बागलुङ नगरपालिका—३ की अध्यक्ष लक्ष्मी बासकोटाले प्रहरीको अभियानमा हातेमालो गर्ने बताईन् । ‘हाम्रो समाज र ठाउँको सुधारका लागि यो निकै राम्रो अभियान सुरु भएको छ,’ उनले भनिन्,‘हामी सहकार्य गर्न तयार छौं । प्रयोग गर्नेलाई सुधार गर्ने मात्र होईन यो अभियान लागूऔषध विक्री वितरणका लागि ओसार पसार गर्नेहरु विरुद्ध पनि केन्द्रित हुनु जरुरी छ ।’ लागूऔषध निरन्तर भित्रिरहे सुधारको प्रयास असफल हुने उनको तर्क छ । राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसीले प्रहरीको अभियानले सहकारी संघ संस्थाले समेत साथ र सहयोग गर्ने प्रतिवद्धता जनाए ।


‘हामी आर्दश सञ्चार सहकारी संस्थाबाट पनि विगतमा यो कार्यक्रम गरेका थियौं र निकै प्रभावकारी पनि देखिएको थियो,’ उनले भने,‘भर्खरै युवा अवस्थामा प्रवेश गर्दै गरेकाहरु कुलतमा लाग्न समाजले सही बाटो लिन सकेको छैन । यसलाई सुधार गर्ने जिम्मा हामी सबैको हो ।’ सामुदायिक प्रहरी सेवा केन्द्र गुठीकी अध्यक्ष लिलादेवी खड्काले छोराछोरी लागूऔषधमा लागेका कारण आमाहरु दिनहुँ रोईरहनु परेकोले त्यसको समाधानका लागि प्रहरीको अभियानलाई सहयोग गर्ने बताईन् ।


‘मैले आफ्नै आँखा अगाडी कति जना आमाहरु रोएको देखेको छु,’ उनले भनिन्,‘अब छोराछोरी सुुधार्नका लागि प्रहरीले राम्रो कार्यक्रम ल्याएको छ । हामी पनि जाग्नुपर्ने बेला भएको छ ।’ पहिलो चरणमा अभियानलाई बागलुङ बजार केन्द्रित गर्ने जिल्ला प्रहरी कार्यालय बागलुङका प्रवक्ता डिएसपी झपिन्द्रप्रसाद भट्टराईले बताए । आमाहरुको सोचे जस्तो साथ पाए तीन महिनाको अवधीमा लागूऔषध प्रयोगकर्ताको संख्या ५० प्रतिशत कम गर्न सकिने प्रहरीको बुझाई छ । उक्त अवसरमा आदर्श सञ्चार सहकारी संस्था लि। बागलुङले लागूऔषध प्रयोग गरे नगरेको जाँच गर्न प्रयोग हुने २० थान टेष्ट किट प्रहरीलाई हस्तान्तरण गरेको छ ।