ताजा समाचार

श्रावण २९ गते २०७६

आज जनैपूर्णिमा पर्व : महत्व र रोचक कथासहित

रक्षाबन्धन हिन्दू धर्मावलम्बीहरूले मनाउने एउटा पवित्र चाड हो । यो चाड श्रावणशुक्ल पूर्णिमाको दिनमा हिन्दू धर्मावलम्बीले मनाउने गर्दछन् ।

यसवर्ष आज श्रावण ३० गते जनैपूर्णिमा पर्व मनाइँदै छ । विशेषतः ब्राम्हण क्षेत्री जातिका व्रतवन्ध गरेका अथवा जनै लगाउनेहरू यस दिन पुरानो जनै फेरेर नयाँ जनै लगाउने गर्दछन् । तागाधारी (जनैधारी) हरूले यस दिन वर्षभरीका लागि आवश्यक पर्ने जनै तयार गरी मन्त्रेर राख्ने गर्दछन् ।

यस दिन नेपालमा ब्रामह्णहरू नुहाई–धुवाई गरेर पूजा पाठ गरि सके पछि पवित्र धागो, जसलाई रक्षा बन्धन भनिन्छ । त्यसलाई बोकेर गाँउ गाँउ गएर सबै जनालाई रक्षा बन्धन बाँधेर टिका लगाईदिने गर्छन । त्यसको बदलामा मान्छेहरूले पुरोहित, ज्वाई, भानिज र बामह्णहरूलाई रूपयाँ पैसा दिने गर्छन ।

रक्षाबन्धन : ‘येनबद्धो बलिराजा दानवेन्द्रो महाबल, तेन त्वं प्रतिवध्नामी रक्षेमा चल मा चल ।’
सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी ‘जेले अत्यन्त बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, विचलित नहोऊ’ भनी धागोरडोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक कथनबाट चलेको रक्षाबन्धनको परम्परा हिन्दू धमावलम्वीबीच आज पनि त्यत्तिकै प्रचलित छ ।

समयको परिवर्तनसंगै तागाधारी (जनैधारी) हरूको संख्या घट्दै गए पनि जनैपूर्णिमाको दिन भने मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन (डोरो) उक्त मन्त्र पढ्दै ब्राम्हणले यजमानको नाडीमा बाँधिए रक्षा हुन्छ भन्ने प्रचलनलाई सबैले स्विकार गरेकै छन् ।

यसैगरी जनैपूर्णिमाकै दिन देह शुद्ध गरी देवता, सप्तषि तथा पितृको नाममा तिल, कुशसहित तर्पण गरिने भएकाले यस पर्वलाई ‘ऋषितर्पणी’ का नामले पनि चिनिन्छ । यस दिन सप्तर्षिद्वारा कश्यप, अत्रि, भारद्वाज, गौतम, जमदग्नी, वशिष्ठ र विश्वामित्रलाई तर्पण दिइन्छ ।

यस दिन ११ थरीका गेडागुडी मिसाई भिजाएर टुसा उम्रेपछि क्वाँटी बनाई खाने चलन छ । यसरी तयार गरिएको क्वाँटी खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वषार्का कारण चिसो भएको मौसममा शरीरमा तापसञ्चार हुने विश्वास गरिन्छ ।

पौराणिक कथा :
पौराणिक कथा अनुसार देवराज ईन्द्र र दैत्यराजबीच १२ वर्षसम्म भयकंर युद्ध चलेको थियो । यस युद्धमा असुरहरूले देवताहरूमाथि विजय प्राप्त गरेका थिए । पराजित देवगण धर्म एवं संस्कार विहीन भएर जीवनयापन गर्न लागे ।

यसरी गौरवहीन जीवनदेखि देवराज ईन्द्र बाँच्नु भन्दा मर्नु नै श्रेयस्कर सम्झेर असुरसंग अन्तिम युद्ध गर्ने संकल्प लिएका थिए । त्यो दिन श्रावणशुक्ल चतुर्दशीको दिन थियो । अतः देवगुरु वृहस्पतिले अघिल्लो दिन ईन्द्रको कल्याण एवं विजय कामना होस् भनी रक्षाको विधान श्रावण मासको पूर्णिमाको शुभ मुहूर्तमा इन्द्रलाई रक्षाको बन्धन बाँध्दै निम्न मन्त्र जप्नुहुन्छ ।
येन बद्धो बली राजा दानवेन्द्रो महाबलः ।
तेन मन्त्रेण बहनामि रक्षे मा चल मा चल ।।

तत्पश्चात् ईन्द्राणीले ईन्द्रको दाहिने हातमा रक्षासूत्र बाँधे र जुन रक्षासूत्र बाँध्नाले देवराज ईन्द्र विजयी बने । वास्तवमा त्यो पवित्रताको रक्षासूत्र थियो ।

त्यही रक्षासूत्रको सम्झना गर्दै रक्षाबन्धन बाँध्ने प्रचलन रही आएको छ । प्रथम विश्वयुद्धमा ब्राम्हमण, क्षेत्री र मगरहरूको मुसलमानले जनै फालिदिएपछि मगरजातिमा जनै धारण गर्नेक्रम रोकिएको मगरहरूको भनाइ छ ।

अर्को एक कथा अनुसार जब यमदूतले आफ्नो बहिनी यमुनासंग राखी बाँध्ने समयमा भनेको हुन्छ कि जसले यस पवित्रताको राखी बाँध्दछ उ यमदूतको सजाय अथवा भयबाट मुक्त हुन सक्दछ । त्यसै अनुरुप यस दिन यमदूत र यमुनाको कथा अनुसार दिदी बहिनीले दाजुभाईलाई राखी बाँध्ने प्रचलन पनि चल्दै आएको छ ।

तराई क्षेत्रमा रक्षाबन्धनलाई दिदी–बहिनी र दाजु–भाइको आपसी मायाको चाडका रूपमा पनि लिइन्छ । आजका दिन दिदी–बहिनीले आफ्ना दाजु–भाइको दीर्घायू र सफल जीवनको कामना गरी हातमा कलात्मक राखी बाँधी आफ्नो रक्षाको वचन लिने चलन छ ।

नयाँ जनै लगाउने मन्त्र :
यज्ञोपवितं परमं पबित्रम, प्रज्ञापतेर्यत्सहजम पुरास्तात
आयुष्यार्मग्नम प्रतिमुन्च शुभ्रम, यज्ञोपवितं बलामस्तु तेज

हातमा डोरो र क्षाबन्धन बाँध्ने मन्त्र
येन बद्धो बलि राजा दानबिन्द्रो महावल
तेन त्वं प्रति बध नामी रक्षे मा चल मा चल

नेवार समुदायमा ‘गुन्हु–पुन्ही’
आजको दिन नेवार समुदायमा ‘गुन्हुपुन्ही’ भनी मनाइने परम्परा छ । विभिन्न प्रकारका स्वरबाट वर्षा र खेतीको कामबारे कृषकलाई जानकारी दिने भ्यागुताले गठेमङ्गलका दिन नरभक्षी घण्टासुरलाई बाटो भुलाई ढापमा जाकिदिएकाले नेवार समुदायमा आजको दिन भ्यागुताको पनि पूजा गर्ने प्रचलने छ । आजकै दिन भगवान् गौतमबुद्धले आफ्नो कामशक्तिमाथि विजय प्राप्त गरेका थिए भनेर बौद्धग्रन्थको ललित विस्तारमा उल्लेख गरिएको छ ।