ताजा समाचार

श्रावण २८ गते २०७६

पोखराका पत्रकार राजबहादुर गुरुङ सम्मानित

पोखराका पत्रकार राजबहादुर गुरुङ काठमाडौंमा सम्मानित एवं पुरस्कृत भएका छन् ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को स्थापना दिवसमा उनीसहित अन्य ३ जना पत्रकार सम्मानित भएका हुन् ।

उनीहरू आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् । गुरुङसहित पुरस्कृत हुनेमा उदयपुरका कौशल चेम्जोङ, सुनसरीका गणेश राई र काठमाडौंकी शोभा श्रेष्ठ छन् ।

उनीहरूलाई उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री बर्षमान पुनले सम्मानपत्रसहित जनही २० हजार रुपैयाँले पुरस्कृत गरेका थिए ।

२०५१ सालदेखि पोखराबाट पत्रकारिता गर्दै आएका गुरुङ युनाइटेड दैनिक र युनाइटेड खबर डटकमका प्रकाशक तथा सम्पादक हुन् ।

गुरुङले जनसत्ता साप्ताहिक, सूचना साप्ताहिक, सन्ध्याकालीन दैनिक, देशान्तर, विमर्श, तरुण, घटना र विचार, जनमन्थन, सगरमाथा टेलिभिजनलगायतमा काम गरेका छन् ।

उक्त अवसरमा मन्त्री पुनले अबको पत्रकारितालाई मर्यादित बनाउनुपर्ने भन्दै संविधान जारीपछि जनजातिको आन्दोलन फरक ढंगले अगाडि आउनुपर्ने बताए ।