ताजा समाचार

श्रावण २८ गते २०७६

क्यान कास्कीको आइसिटी सेमिनार

कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान) कास्कीद्धारा डिजिटल वित्तीय सेवा तथा वित्तीय समावेशीकरण आईसिटी सेमिनार आयोजना गर्यो ।

गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमानले सेमिनार शुभारम्भ गरे ।

उक्त अवसरमा उनले अबको युग डिजिटल युग भएको भन्दै आईसिटीको प्रयोग गरेमा आजको वित्तीय सेवालाई छिटो छरितो गर्न सकिने बताए ।

‘संसारका विकसित मुलुकले गरिसकेको र हामीले पनि यसको प्रयोग गर्नुपर्छ । भ्रष्टाचारलाई पनि यसले न्यूनीकरण गर्न सघाउँछ’, उनले भने ।

नेपालमा संघीयताको पहिलो अभ्यास भएकाले कानुन बनाउनेक्रममा रहेको उनले स्पष्ट पारे । सूचना तथा प्रविधि सम्बन्धी कानुन बनाउँदा सहयोग गर्न क्यानसंग मन्त्री चुमानले आग्रह गरे ।

कार्यक्रममा स्रोत व्यक्ति माधव कटुवालले डिजिटल वित्तीय सेवाहरू र अर्का स्रोत व्यक्ति, क्यान सेन्टर केन्द्रीय कार्यकारी सदस्य तथा इन्फाडेभलपर्स प्रालिका सिईओ उमेश रघुवंशीले वित्तीय समावेशीकरणको विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले क्यान कास्कीले सूचना तथा प्रविधिका क्षेत्रमा धेरै रचनात्मक कार्यक्रम गरेको बताए । सूचना प्रविधिका क्षेत्रमा उद्योग वाणिज्य संघले क्यान कास्कीसँग सहकार्य गर्ने उनको भनाइ छ ।

कार्यक्रममा प्रशिक्षार्थी कृश्मा पोखरेलले आजको युग आईसिटीको युग यसको प्रयोग गरि बित्तिय कारोवार गरेको खण्डमा काम निकै छिटो र प्रभावकारी हुने बताइन् ।

कार्यक्रममा क्यान गण्डकी प्रदेशका कार्यवाहक अध्यक्ष तुलसी पाण्डे, कोषाध्यक्ष देव बोगटी, क्यान कास्कीका पूर्व अध्यक्ष चण्डिप्रसाद अर्याल लगायतले बोलेका थिए ।

क्यान कास्कीका अध्यक्ष युवराज पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा लेखा संयोजक तथा कार्यक्रम संयोजक कृष्णराज पोखरेलले स्वागत र सचिव विकास भुर्तेलले संचालन गरेका थिए ।