ताजा समाचार

श्रावण २८ गते २०७६

बालआश्रममा फ्रिज तथा खाद्यान्न सहयोग

लायन्स क्लब अफ पोखरा अर्पणको अगुवाईमा बालआश्रममा फ्रिज तथा खाद्यान्न सहयोग गरिएको छ । क्लबले हरेक वर्ष यस्तो कार्यक्रम गर्दै आएको छ ।

पोखरा महानगरपालिका वडा नं. १९ स्थित ओम शिवशक्ति कल्याणी बाल आश्रममा उक्त सामग्री सहयोग गरिएको हो ।

क्लबकी सदस्य भगवती बरालका नाति आदिजंग बरालको जन्मदिनको अवसर पारी उक्त सहयोग गरिएको हो ।

सहयोग सामग्रीमा फ्रिज, खाद्यान्न तथा १ छाक खानाका साथै १२ हजार २५ रुपैयाँ रहेको छ । उक्त सामग्री कार्यक्रमका प्रमुख अतिथि एवं लायन्सका रिजन चियर पर्सन सुरेन्द्रमान सिंह भण्डारी, क्लबकी अध्यक्ष हिरा भण्डारी लगायतले आश्रमकी सञ्चालिका भवानी थापालाई हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा प्रमुख अतिथि भण्डारीले आश्रममलाई सहयोग गरेर अर्पण लायन्सले महत्वपूर्ण एवं सह्रानीय काम गरेको भन्दै लायन्सको मर्म अनुसार यस्ता कार्यमा थप सक्रिय भएर लाग्न आग्रह गरे ।

क्लबकी अध्यक्ष हिरा भण्डारीले आश्रममा सहयोग गर्न पाउँदा निकै खुशी लागेको भन्दै लायन्सले दिएको सबै जिम्मेवारी पूरा गर्न क्लब प्रतिवद्ध रहेको बताइन् ।

कार्यक्रम संयोजक एवं क्लबकी सदस्य भगवती बरालले हामी जस्तै सहयोगी हात एवं मनहरूले नै बाल आश्रम तथा वृद्धाश्रम सञ्चालन हुने भन्दै यस्ता आश्रमलाई दीगो रुपमा सञ्चालन गर्न राज्यको ध्यान पुग्नुपर्ने बताइन् ।

आश्रमकी सञ्चालिका भवानी थापाले सहयोगी हात तथा मनले नै आश्रम सञ्चालन भइरहेको भन्दै राज्यले पनि होंस्टेमा हैंसै गरिदिनेमा आफू विश्वस्त रहेको बताइन् ।

कार्यक्रममा स्वागत क्लबका पूर्व अध्यक्ष रेश्मा अधिकारीले र सञ्चालन सचिव कल्पना पाण्डेले गरेका थिए ।

लायन वर्ष २००८ मा स्थापित अर्पण लायन्समा ३७ जना सदस्य छन् । क्लबकी संस्थापक अध्यक्ष हालकी गण्डकी प्रदेशसभा सदस्य पुष्पा केसी भण्डारी हुन् । क्लबले ३ वटा क्लब स्पोन्सर गरिसकेको छ ।

यस्तै २०५९ सालमा ओम शिवशक्ति कल्याणी बाल आश्रम स्थापना भएको हो । आश्रममा हाल ११ जना बालबालिका आवद्ध छन् । आश्रममा विपन्न तथा अभिभावक विहीन बालबालिकाले आश्रय पाउने गरेका छन् । आश्रमकी अध्यक्ष समेत सांसद केसी नै हुन् ।