ताजा समाचार

श्रावण २८ गते २०७६

पोखरालाई सिंगार्न उद्यान आवश्यक : मेयर जिसी

पोखरा महानगरपालिका वडा नं. १८ स्थित लभ्लीडाँडास्थित निर्माणाधीन दिव्य दर्शन शान्ति उद्यान एवं ध्यान केन्द्रमा धूपीको विरुवा रोपिएको छ ।

कार्यक्रम शुभारम्भ गर्दै पोखरा महानगरका मेयर मानबहादुर जिसीले पोखरालाई थप सौन्दर्यकरण गर्न यस्ता उद्यानले महत्वपूर्ण भूमिका खेल्ने बताए ।

उनले पार्क निर्माण महानगरको पनि लक्ष्य रहेकाले सहयोग गर्ने प्रतिवद्धता जनाए ।

ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय पोखरा–५, पस्र्याङको अगुवाईमा दिव्यदर्शन शान्ति उद्यान एवं ध्यान केन्द्र निर्माण समितिले उक्त उद्यान निर्माण गर्न लागेको हो ।

उद्यान निर्माणका लागि ६ करोड रुपैयाँ आवश्यक पर्ने समितिका अध्यक्ष रामजीप्रसाद कोइरालाले जानकारी दिए ।

उनले पार्क निर्माणका लागि रकम जुटाउन विभिन्न क्षेत्र, संघसंस्था तथा व्यक्तिसंग अपिल गरिरहेको भन्दै यसमा महानगरको पनि ध्यान जान आवश्यक रहेको बताए ।

ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय पोखरा–५, पस्र्याङकी सञ्चालिका ब्रह्माकुमारी सुधाले पर्यावरण, सरसफाई, आध्यात्मिक एवं चारित्रिक उत्थानका लागि सक्रिय संस्थाले पार्क निर्माणमा ध्यान केन्द्रित गरेको भन्दै सबैको सहयोग आवश्यक रहेको बताइन् । उनले सौन्दर्य अभिवृद्धि गर्नका लागि उद्यान निर्माण गर्न लागिएको बताइन् ।

समितिका अध्यक्ष रामजी प्रसाद कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा धन्यवाद ज्ञापन शिवप्रसाद कोइरालाले र सञ्चालन ब्रह्माकुमार राजु खड्काले गरेका थिए ।