ताजा समाचार

श्रावण २८ गते २०७६

त्रिशुली बस दुर्घटना : १९ जना अझै बेपत्ता, जीवितै भेटिएलान् ?

धादिङको बेनीघाटमा भएको बस दुर्घटनामा बेपत्ता भएका १९ जनाको ५ जिल्लामा खोजी जारी राखिएको छ ।

जिल्ला प्रशासन कार्यालय धादिङले छिमेकी ४ जिल्लामा सहयोगको लागि आग्रह गरेको छ ।

गत शुक्रबार सर्लाहीको मलंगवाबाट ४५ यात्रु बोकेर काठमाडौं आउँदै गरेको बस दुर्घटनामा परेको थियो ।

ना६ख ७४६९ नम्बरको बस दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको थियो भने बाँकी यात्रु बेपत्ता भएको प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेले जनाएका छन् ।

बेपत्ता हुनेमा काखे बालकसमेत भएकाले केहीको नाम खुल्न नसकेको प्रहरीले जनाएको छ ।

वर्षाको समयमा ठूलो बाढी आएकाले उद्धार र खोजी कार्यमा कठिनाई भए पनि सुरक्षा निकाय निरन्तर सक्रियताका साथ काम गरिरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी प्रमुख राजकुमार वैदवारले जानकारी दिए ।

उनले हराएकाहरु जीवित भेटिने सम्भावना ज्यादै न्यून रहेको बताए ।