ताजा समाचार

श्रावण २८ गते २०७६

अब अमेरिकाको भिसा र ग्रिन कार्ड लिन कठिन हुने

आप्रवासीप्रति बिरोधी र निकै आक्रमक रहेका अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आप्रवासीहरुका निम्ति नयाँ नीति लिएर आएका छन् । अमेरिकाले भिसा र ग्रिनकार्डमा थप कडाइ गर्ने उदेश्यले नयाँ नीति लिएर आउँने भएको हो । ट्रम्प सरकारले आप्रवासीका लागि भिसा अवधि लम्ब्याउन तथा स्थायी बासिन्दाको हैसियत वा ग्रीन कार्ड प्रदान गर्न थप कडाई गर्न नयाँ नीति ल्याउँन लागेको हो । अमेरिकाले ल्याउँन लागेको यस नीतिले यसअघि आप्रवासीले भिसा र ग्रिनकार्डमा पाउँदै आएको सहुलियत पनि कटौती हुनेछ ।

ट्रम्प सरकारले आप्रवासीहरु सार्वजनिक सुविधामा निर्भर हुनसक्ने भन्दै भिसा अवधि लम्बाउँन र ग्रिन कार्डको लागि दिएको निवेदन अस्वीकार गर्न सक्ने नियम बनाउँदै छ । यो नियम अक्टुबरबाट लागू हुने बताईएको छ । यस प्रकारको कडाईले आम्दानीको स्तर राम्रो नभएको र सरकारी सुविधामा मात्र निर्भर हुन सक्ने मानिसहरुको अमेरिकी प्रवेशमा बन्देज लाग्न सक्छ । ट्रम्पले अमेरिकी नागरिकहरुको हितका लागि र आप्रवासीहरु आर्थिकरुपमा आफै सबल हुनु पर्नेभन्दै यस्तो नियम लागू गर्न लागेको बताएका छन् ।

अमेरिकाको यस निर्णयले अमेरिकामा नागरिकताबिना बसिरहेका दुई करोड २० लाख मानिस प्रभावित हुने देखिएको छ । अमेरिकामा हुने आतंककारी गतिविधी वा सनसनीपुर्ण आक्रमणहरु आप्रवासीहरुबाट बढी हुने गरेको भन्दै ट्रम्पले आप्रवासीहरु घटाउँन कडा कडा नीति नियमहरु ल्याउँने गरेका छन् । यसअघि डिभी नै रोक्ने पहल समेत गरेका ट्रम्पको उक्त प्रयास असफल भएपछि उनलेृ आप्रवासी लक्ष्ति कडा नीति नियम ल्याउने लागेका हुन् ।