ताजा समाचार

श्रावण २७ गते २०७६

हरिहर गुफा सन्यास आश्रममा बोलबम जलयात्रा

पोखरा महानगरपालिका वडा नं. २० र ११ द्धारा संयुक्तरुपमा आयोजित पोखरा–२० स्थित हरिहर गुफा सन्यास आश्रममा पहिलोपटक आयोजित बोलबम जलयात्रा समापन भएको हो । बोलबम समापन पोखरा महानगरका मेयर मानबहादुर जिसीले गरे । उनले धर्म र संस्कृतिलाई लापर्वाही र अवहेलना गर्नेको अद्योगति हुने बताए । साथै मेयर जिसीले पोखरालाई प्राकृतिक जत्तिकै धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गरिने स्पष्ट पारे ।

पोखराको पूर्वोत्तर क्षेत्रमा रहेको हरिहर गुफा सन्याम आश्रम पर्यटकीय हिसाबले आकर्षक गन्तव्य भएको भन्दै उनले हरिहर गुफा सन्यास आश्रम तनावमुक्त गर्ने ठाउँका रुपमा विकास हुन सक्ने बताए ।

मेयर जिसीले आश्रमको गुरुयोजना बनाएर काम गर्न सुझाव दिंदै भने, ‘गुरुयोजना बनाउँदा १ वर्षमा कति गर्ने, २ वर्षमा कति र ३, ४, ५ वर्षमा कति गर्ने भनेर छुट्याउनुस्, अनि गुरुयोजना अनुसारै काम गर्नुस् ।’

उनले गुरुयोजना तथा यसको डिपीआर बनाउँदा धर्मको मर्म र भूगोल बुझेकालाई बनाउन दिन आग्रह गर्दै आश्रममा पूर्वाधार निर्माणका लागि महानगरपालिकाले सहयोग गर्ने आश्वासन समेत दिए ।

कार्यक्रममा पोखरा महानगरपालिका वडा नम्बर २० का अध्यक्ष सिम गुरुङले हरिहर गुफाको प्रवर्द्धन गर्ने उद्देश्यले पहिलो पटक २ वटा वडा मिलेर बोलबम जलयात्रा आयोजना गरिएको स्पष्ट पारे ।

अध्यक्ष गुरुङले आगामी दिनमा बालाचतुर्दशी, शिवरात्री जस्ता विभिन्न धार्मिक उत्सवहरुमा पनि यसरी नै कार्यक्रम गरेर हरिहर गुफा सन्यास आश्रममा धार्मिक पर्यटक भित्र्याउने योजना रहेको बताए ।

पोखरा–१६ का अध्यक्ष जीवन आचार्यले हरिहर गुफाको विकास र प्रवर्द्धनका लागि आफ्नो वडाबाट पनि सहयोग रहने बताए ।

पोखरा–११ का अध्यक्ष मोहन बास्तोलाले हरिहर गुफाको विकास र प्रवर्द्धन लागि पोखरा–२० सँग सहकार्य गर्ने बताए ।

हरिहर सन्यास आश्रममा यस वर्ष साउनमा परेको ४ वटै सोमबार बोलबम जलयात्रा निकालिएको हो ।