ताजा समाचार

श्रावण २७ गते २०७६

मानसिक रोगी युवती गर्भवती भएपछि….

मेरो (गोसाँ) मेरा श्रीमान पैसा कमाउन लाहुर जानुभएको छ । मैले कसरी पेट बोँके ? उनले भन्ने गरेकी छन् । तर उनी पेट बोकेर पनि सुत्केरी हुने अवस्थामा पुगेपछि अहिले गुल्मीको जिल्ला अस्पताल तम्घास ल्याइएको छ ।

उनी अविवाहित हुन् । अन्दाजी २५ बर्षीया उनी जिल्लाको रेसुङ्गा नगरपालिकावडा नम्वर ११ सिमीचौरकी अविवाहित युवती रुमकली नेपाली (नाम परिवर्तन) हुन् ।

उनी अत्यन्तै विपन्न परिवारकी भएकोले आफ्नै खर्चमा प्रसुति गराउनका लागि अस्पताल लिएर आएको त्यस वडाका वडाध्यक्ष खुमबहादुर रानाले बताए ।

‘मैले मेरो रगत दिन परे पनि उनलाई बचाउँछु’, वडाध्यक्ष रानाले भने, ‘मानवअधिकारवादी संस्थादेखि सबै संघ-संस्थालाई पनि यी महिलाको उद्दारका लागि सहयोगको अपिल गर्दछु ।’

उनका अनुसार युवतीको मानसिक सन्तुल ठिक छैन ।  उनलाई कसले गर्भधारण गरायो भन्ने खुलेका छैन ।  वडा सदस्य हुमकला रानाले निकै फकाएर सोधिन् तर उनले कुनै व्यक्तिको नाम लिइनन् ।

उनले जतिबेला पनि ‘मेरो गोसाँ (श्रीमान) लाहुर जानुभएको छ, म कसरी गर्भवती भएँ ?’ भन्ने गरेकी छन् । उनको अहिलेसम्म कसैसँग विवाह भएको छैन ।

उनका बाबुआमाले दैनिक निमेक मजदूरी गरेर जिविका चलाउने गरेका छन् ।  उनले आफ्नो कल्पनामा रहेको लाहुरे श्रीमान भनिएका ब्यक्ति को हुन् भनेर पत्ता लगाउनका लागि प्रहरी प्रशासनको सहयोग लिने र उनलाई जिल्ला अस्पतालमा सम्भव नभए अरु कुनै अस्पतालमा खर्च जुटाएर पुर्याइने वडाध्यक्ष रानाले बताए ।

वडाध्यक्ष राना नेपाली सेनाका अवकाश प्राप्त सैनिक हुन् । उनी यसअघि पनि यस्ता  मानवीय उद्दार कार्यमा जुट्दै आएका छन् ।

युवती बढी मात्रामा जथाभावी बाहिर डुल्ने गर्दथिन् । ब्यथा लागेर सडकमा लडेको थाहा पाएपछि वडाध्यक्ष रानाले जिप चालकलाई बोलाएर अस्पताल ल्याएका हुन् ।