ताजा समाचार

श्रावण २६ गते २०७६

जब उनी डेढ लाखमा भारतमा बेचिंदै थिइन्…

नुवाकोटका २८ वर्षीय एक युवकमाथि मानव बेचबिखनको आरोपमा एक महिलाले प्रहरीलाई ठाडो उजुरी दिन्छिन् ।

मानव बेचबिखनजस्तो संवेदनशील विषयमा उजुरी परेपछि प्रहरीलाई ती युवकलाई पक्राउ गर्छ ।

महानगरीय प्रहरी वृत्त महाराजगञ्जले ती युवकलाई एक रात प्रहरी हिरासतमा राखेर अनुसनधान गर्छ । तर युवकले मानव बेचबिखन गरेको कुनै प्रमाण पाउँदैन र उसलाई छाडिदिन्छ ।

गत वर्षको कुरा थियो यो । (परिवर्तित नाम) सीता भएकी युवतीको उजुरीको आधारमा पक्राउ परेका अजय तामाङ प्रमाण नपुगेपछि सहज रुपमा छुटेका थिए ।

तर तिनै अजयसहित अर्का एकजनालाई शनिवार साँझ प्रहरीले फेरि मानव बेचबिवखनको आरोपमा पक्राउ गरेको छ ।

मानव बेचबिखनको आरोपमा दुप्चेश्वर गाउँपालिका ७– नुवाकोटका २८ वर्षीय अजय तामाङ र २० वर्षीय राजु तामाङलाई महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो । 

सीतालाई आर्थिक प्रलोभनमा पारेर भारतको कोलकाता लैजाने क्रममा अजय र राजु पक्राउ परेको परिसरका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले बताए ।

‘सीताले नै पहिला चौकीमा थुनाएर निस्केका अजयलाई सीताले नै फेरि प्रहरीलाई खबर गरेपछि पक्राउ गरेका छौं,’ डीएसपी बोगटीले भने ।

कोटेश्वरबाट काँकडभित्ता जान लागेको अवस्थामा भक्तपुरको जगातीबाट उनीहरुलाई पक्राउ गरिएको डीएसपी बोगटीको भनाई छ ।

हाल उनीहरुविरुद्ध मानव बेचविखन मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।