ताजा समाचार

श्रावण २६ गते २०७६

‘गलत रगत दिएकै कारण बालिकाको मृत्यु’

राजधानीको बाँसबारीस्थित सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा वैशाख २३ गते भएको बालिकाको निधन गलत समूहको रगतकै कारणले भएको कान्सिलले जनाएको छ ।

काउन्सिलको छानविनपछि बालिकाको निधन गलत रगतकै कारणले भएको हुँदा उपचारमा संलग्न १० देखि १५ जना कर्मचारीलाई स्पष्टीकरणको लागि पत्र काटेको काउन्सिलले जनाएको छ ।

वैशाख २३ गते केन्द्रमा मुटुको भल्वको शल्यक्रियाका क्रममा सर्लाही सिसौटियाकी आकृति कुमारीको मृत्यु भएको थियो । बालिकाका आफन्तले शल्यक्रियाको क्रममा गलत रगत चढाउँदा बालिकाको मृत्यु भएको भन्दै छानविनका लागि काउन्सिलमा निवेदन परेको थियो ।

यसै निवेदनको बारेमा काउन्सिलका इथिकल कमिटीका संयोजक तथा वरिष्ठ डा.ढुण्डीराज पौडेलले गलत रगतकै कारणले बालिकाको निधन भएको बताए । पौडेलले बालिकाको रोग जटिल र उच्चस्तरको शल्यक्रिया गरे पनि बाच्ने सम्भावना निकै कम भए पनि गलत समूहको रगतको कारणले गर्दा झनै समस्या भएपछि निधन भएको बताए । 

बालिकाको रक्त समूह ‘ओ पोजेटिभ’ भएपनि ‘ए पोजेटिभ’ समूहको रगत दिइएको थियो ।  रोग जस्तो सुकै भएपनि नागरिक उपचारको लागि अस्पताल आइसके पछि उपचार पाउनुपर्ने अधिकार भएको बताउँदै आकृतिको केसमा भने उपचारमा संलग्न स्वास्थ्यकर्मीको टिमबाट गल्ती भएको वरिष्ठ डाक्टर पौडेलले बताए ।