ताजा समाचार

श्रावण २६ गते २०७६

प्रचण्डमाथि सूर्य थापाको हमला

नेकपाको एकीकरण प्रक्रिया पूर्ण रुपमा सकिनु अघि नै दुई धारका विचारहरु छताछुल्ल हुन थालेका छन् । नेकपामा पूर्व एमाले र पूर्व माओवादीका नेताहरु प्रक्रियागत रुपमा एकीकरण भएपनि मानसिक रुपमा एकीकृत बन्न सकेका छैनन् । स्वार्थ पूरा गर्नको लागि मिलेका दुई पार्टीका नेताहरुबीच समय समयमा एक पक्षले अर्को पक्षलाई दिने कडा प्रतिक्रियाले पनि बेला बेलामा नेकपा भित्रको असलियत पत्ता लाग्ने गरेको छ । 

केही दिन अघि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धमा आफूले कसैलाई एक झापड पनि नहानेको र एक झापड पनि नखाएको भन्ने उक्तिलाई आम मानिसले व्यङ्ग्य गरिरहँदा नेकपाकै एक केन्द्रीय सदस्यले समेत प्रचण्डलाई कडा जवाफ फर्र्काएका छन् । आफ्नै पार्टीका अध्यक्ष विरुद्ध अर्का अध्यक्ष केपी शर्मा ओली निकट मानिएका थापाले दिएको जवाफलाई गम्भीरताका साथ हेरिएको छ ।

अनुशासन विरुद्धको कारबाही डर नमानी शाब्दिक रुपमा उनले गरेको आक्रमणले नेकपा भित्र पूर्व एमाले र पूर्व माओवादीको सोचाई कुन हदसम्म गाँजिएको छ भन्ने स्पष्ट भएको छ । बाहिर देख्नको लागि एकीकरण भएपनि नेकपा आफैंभित्र एकीकृत हुन नसकेको कुरा पनि यसले पुष्टि गर्छ । 

थापाले लेखेका छन् ”आफ्नो यस ६५ बर्ष लामो महान जीवनकालभर कसैको एक लपेटा खाएको र कसैलाई एक लपेटा खुवाएको छैन । महान जनयुद्धको आदेश, निर्देश र नेतृत्वचाहिँ मेरै हो ! जे जति मारिए, ती सबका सब केवल आफ्नो कारणले नै मरे र मारिएको तथ्य हो । म त महान जनयुद्धको नेतृत्व गरिरहेको त्यसबेला पनि शान्तिको पक्षधर नै थिएँ भित्रभित्रै ! मने, बुझिदिनेहरूले सही बात बुझ्नुपर्छ । हिजोको महान र हाल परित्याग गरिसकेको जनयुद्धमा मार्ने र मर्ने महान कार्यको दोषको भारी एक जना मनैदेखिको शान्तिकामीका हैसियतमा सुप्रिम कमाण्डरले मात्र बोक्न कसरी सम्भव हुन्छ ? विगतसॅग क्रमभङ्ग गर्दै हामीहरू यहाँसम्म आइपुगेको त बिर्सन मिल्दैन नि ! आजको क्रान्तिकारी तरंग र मनोदशा !!!”

थापाले प्रचण्डलाई मात्रै नभएर पूर्व माओवादी कोटाबाट नेकपाको युवा संगठन प्रमुख बनेका रामप्रसाद सापकोटा ‘दीपशिखा’ माथि समेत कडा व्यङ्ग्यबाँण प्रहार गरेका छन् । थापाले विहान फेसबुकमा नै आफ्नो विचार राख्दै लेखेका छन् ”दीपशिखाले अनुशासन र मर्यादा सिकाउने ? कति हास्नु ? यस्तो दादागिरी स्वीकार्य हुन्छ भन्ठानेको ? विचरा !!!” यसरी उनको दुई दिनको फेसबुकमा लेखेको विचारले उनको प्रचण्ड र पूर्व माओवादीको गतिविधिप्रतिको आक्रोश स्पष्ट भएको छ ।