ताजा समाचार

श्रावण २६ गते २०७६

अन्ततः सोमपालले नै लिए क्याच, जिताए म्याच

क्यानडामा भइरहेको ग्लोबल टी–२० क्रिकेटमा नेपाली राष्ट्रिय टिमका खेलाडी सोमपाल कामी रहेको टिम वेनिपेग होक्स फाइनलमा प्रवेश गरेको छ । 

दोस्रो क्वालिफायर खेलमा शनिबार राति ब्रामटन वुल्भलाई ७ विकेटले पराजित गर्दै होक्स फाइनलमा पुगेको हो ।

होक्सले अब उपाधिका लागि भ्यानकुभर नाईट्ससंग प्रतिस्पर्धा गर्नेछ । नेपाली राष्ट्रिय टिमका अर्का खेलाडी सन्दीप लामिछाने सम्मिलित टोरन्टो नेशनल्सलाई इलिमिनेटरमा हराएर सोमपालको होक्स क्वालिफायरमा पुगेको थियो । 

खेलको अवस्था

निकै रोमाञ्चक खेलमा अन्तिम बलमा एक रन लिँदै होक्सले जित निकाल्न सफल भएको हो । २०१ रनको लक्ष्य पछ्याएको होक्सले ७ विकेट गुमाएर लक्ष्य पूरा गर्न सकेको हो । 

ओपनर साइमन अनवरले २३ बलमा सर्वाधिक ५२ रन बनाए । जेपी डुमिनीले ३४ बलमा नटआउट ५० रन बनाए । ड्यानी स्मिथले नटआउट १७ रन बनाए । सन्नी सोहलले ३२ बलमा ४१, क्रिस लिनले २० बलमा ३५ तथा दयाने स्मिथले ११ बलमा नटआउट १७ रन बनाए । 

यसअघि पहिले ब्याटिङ गरेको ब्रामटन वुल्भले ७ विकेटको नोक्सानीमा २०० रन बनाएको थियो । कप्तान डारेन सामी २२ बलमा ३३ रन बनाए । बाबर हायात र शाहिद अफ्रिदीले समान ३२ रनको योगदान दिए । होक्सका रायद ईम्रिटले सर्वाधिक ३ विकेट लिए ।

सोमपालको खेल
डेब्यु खेलमा गतिलो छाप छाड्न नसकेपछि सोमपालले  प्लेईङ ११ मा रहेर खेल्न पाएका छैनन् । सब्सिच्यूट खेलाडीका रुपमा आउने गरेका सोमपालले शनिबार राम्रो फिल्डिङ गरे । 

उनले शाहिद अफ्रिदीको क्याच लिए । यो म्याचलाई नियन्त्रणमा राख्न निकै फलदायी रह्यो । क्याच लिनुअघि अफ्रिदीले १५ बलमा ३२ रन बनाइसकेका थिए ।