ताजा समाचार

श्रावण २६ गते २०७६

सोमपाल कामीले खोल्न किन पाएनन् ?

ग्लोबल टि-२० क्यानडा प्रतियोगिता अन्तर्गत विन्नीपेग हक्स र ब्राम्पटन वुल्भ्स बीचको दोश्रो क्वालीफायर खेलमा नेपाली खेलाडी सोमपाल कामिले अन्तिम-११ मा नाम लेखाउन पुनः असफल भएका छन्।

नेपाली समय ११:४५ बजे राति सुरु हुने खेलमा विजयी हुने टिम भोलि हुने भानकुभर नाइट्ससंग फाइनल खेल्न छनौट हुनेछ।

खेलमा ब्राम्पटनले टस जितेर ब्याटिंग रोजेको छ। भानकुभरले पहिलो क्वालीफायरमा ब्राम्पटनलाई ७७ रनले ( डीएल मेथड ) पराजित गरेको थियो।

ब्राम्पटनको अन्तिम-११ मा युएई क्रिकेटर रोहन मुस्तफाले मौका पाएका छन्। मुस्तफाले भर्खरै युएई र नेदरल्यान्ड बीचको टि-२० सिरिजमा निकै राम्रो प्रदर्शन गरेका थिए। ३ खेलमा उनले ८ विकेट लिएका थिए।

विन्नीपेग हक्सले बिहिबार भएको इलिमीनेटर खेलमा सन्दिप लामिछानेको टिम टोरोन्टो नेसनललाई २ रनले पराजित गर्दै दोश्रो क्वालीफायर खेल्न छनौट भएको थियो।

खराब प्रकासको कारण दुर्भाग्यपूर्ण तरिकाले युभराज सिंह कप्तानीको टोरोन्टो डी/एल मेथडमा पराजित भएको थियो। प्रतियोगिताको दोश्रो चरण सकिंदा अंकतालिकामा चौथो स्थानमा रहँदै विन्नीपेग प्ले-अफको लागि छनौट भएको थियो। त्यस क्रममा उसले ६ खेलमा २ जित, ३ हार र १ नतिजाविहिन अंक जोडेको थियो।

विन्नीपेगमा रहेका नेपाली अल-राउण्डर सोमपाल कामिले लिग चरणमा एडमोन्टन रोयल्स बिरुद्ध एउटा खेलमा मात्र मौका पाएका थिए।

उक्त खेलमा ब्याटिंगमा अविजित १ रन बनाएका सोमपालले बलिंगमा २ ओभरमा ३३ रन खर्चेर विकेटविहिन भएका थिए।