ताजा समाचार

श्रावण २५ गते २०७६

युनिप्स हिज्जेमा ज्ञानकुञ्ज र वेलनन प्रथम

संस्थागत एवं निजी विद्यालय संगठन (युनिप्स) अन्तरविद्यालय हिज्जे प्रतियोगिता अन्तर्गत मावितहमा ज्ञानकुञ्ज विद्याश्रम प्रथम भएको छ । विद्याश्रमको तर्फबाट रश्मी गुरुङ र अशिम सापकोटा प्रतियोगिताका प्रतिस्पर्धी थिए ।

यसैगरी एकता आवासीय माध्यमिक विद्यालय द्वितीय, वेलनन एकेडेमी तृतीय र सत्यसाई विद्याश्रमले सान्त्वना स्थान हासिल गरेका छन् ।

एकताका प्रकाश शर्मा र सुस्मिता सुनार, वेलननका सृष्टी क्षेत्री र सारिका गौचन र सत्यसाईका सदिना श्रेष्ठ र वसन्त पहारीले प्रतियोगितामा प्रतिस्पर्धा गरेका थिए ।

यसैगरी आधारभूत तहमा वेलनन एकेडेमी, इमाइल स्मल हेवन, एकता आवासीय र ज्ञानकुञ्ज विद्याश्रम क्रमशः प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान हासिल गरेको छ ।

प्रथम स्थान हासिल गर्न सफल वेलननका विद्यार्थीमा हिमाल कुँवर, अनिश शर्मा, स्माइलका तर्फबाट विकल्प थापा, प्राश्ना पौडेल, एकताकातर्फबाट शिरिष चौधरी र रश्मी शर्माका साथै ज्ञानकुञ्जका तर्फबाट रस्विन बराल र अनुप बाँस्तोलाले प्रतिस्पर्धा गरेका थिए ।

प्रतियोगिताको निर्णायकमा नेपाली भाषा शिक्षक परिषद् कास्कीका सल्लाहकार लोकचन्द्र खनाल र सदस्य शशी शिशिर ढुंगाना थिए ।

प्रतियोगिताको शुभारम्भ गण्डकी प्रदेश शिक्षा विकास निर्देशनालयका शाखा अधिकृत भेषराज सुवेदीले गरेका थिए । उक्त अवसरमा उनले शिक्षा जत्तिको महत्वपूर्ण विषय अन्य केही नभएको भन्दै अध्ययन गरेर कहिल्यै नसकिने बताए ।

उनले युनिप्सले आयोजना गरेको हिज्जे प्रतियोगिताले विद्यार्थीमा रहेको अन्तरनिहीत क्षमता बाहिर ल्याउने भएकाले विद्यार्थी जीवनमा यस्ता प्रतियोगिता निकै महत्वपूर्ण हुने स्पष्ट पारे ।

युनिप्सका उपाध्यक्ष तथा कार्यक्रम संयोजक विनोदकुमार नेपालीको अध्यक्षतामा कार्यक्रममा अध्यक्ष शान्ता गुरुङ, निवर्तमान अध्यक्ष ध्रुव गिरी, महासचिव सन्तोष तिवारी लगायतले बोलेका थिए ।