ताजा समाचार

श्रावण २४ गते २०७६

पत्रकार चौधरी गिरफ्तार प्रयास प्रति जनपत्रकार संगठनको अाक्रोस

जनपत्रकार संगठन नेपालका केन्द्रीय कोषाध्यक्ष तथा दाङ सन्देश डटकमकी जानकी चौधरीलाई प्रहरीले शुक्रबार दाङबाट गिरफ्तार गर्ने प्रयास गरेको छ । नेपाल पत्रकार महासंघ प्रदेश ५ स्तरीय कार्यशाला गोष्ठी कार्यक्रममा सहभागी हुन नेपाल पत्रकार महासंघ दाङको सभाहल पुगेकी पत्रकार चौधरीलाई प्रहरीले गिरफ्तार गर्ने प्रयास गरेको थियो ।

कोषाध्यक्ष चौधरीलाई नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएका टोलीले नियन्त्रणमा लिन खोजेपछि कार्यक्रममा सहभागी पत्रकारहरुले प्रतिवाद गर्दै प्रहरीबाट खोसेर चौधरीलाई सुरक्षित राखेका थिए । महासंघको प्रदेश स्तरीय गोष्ठीमा सहभागी हुने दाङ पुगेका पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द अाचार्य, उपाध्यक्ष विपुल पोख्रेल,महासचिव रमेश विष्ट,सचिव उदय जि.एम. लगायत केन्द्रीय पदाधिकारी, प्रदेश र जिल्ला नेतृत्व नै सहभागी कार्यक्रममा प्रहरीले हस्तक्षेप गर्नुले सञ्चारजगत प्रति सरकारी रबैयाको पछिल्लो संकेत देखिएको छ । पत्रकार चौधरीलाई प्रहरीले नियन्त्रणमा लिने प्रयास गरेपछि कार्यक्रम सहभागी सबै पत्रकारले प्रतिवाद गरेपछि प्रहरी पछि हटेको थियो ।

कोषाध्यक्ष चौधरीलाई गिरफ्तार गर्ने प्रयास गरेकोप्रति जनपत्रकार संगठन,नेपालले एक प्रेस विज्ञप्ति जारी गरी आपत्ति जनाएको छ । अध्यक्ष प्रकाश डुम्रे र महासचिव हिम विष्टले सयुक्त प्रेस विज्ञप्ति निकाल्दै फरक विचार तथा आस्था राख्न पाउने संवैधानिक अधिकार कुल्चदै अास्थाकै अाधारमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित पार्ने सरकारी कदमको विरोध गरेका छन् । विज्ञप्तिमा भनिएको छ,‘सरकारको यस्तो कदम सैहृ नहुने र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा हाम्रो अभियान नरोकिने पनि प्रष्ट पार्न चाहन्छौं । साथै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न सरकारलाई आग्रह गर्दछौ ।’ विचार र अास्था राखेकै कारण पत्रकारलाई पक्राउ गरि झुठा मुद्दामा फसाउने सरकारी षड्यन्त्रको भण्डाफोर गर्नुपर्ने कार्यक्रममा सहभागी पत्रकारहरुले जोड समेत दिएका छन् ।

पत्रकार महासंघ दाङको कार्यलय अायोजित कार्यक्रममा संगठनका बिषयबस्तु राखेर ढोकामा अाउनाे लाग्दा प्रहरीले बल प्रयोग गरी नियन्त्रणमा लिने कोसिस गरेको थियो । तर कार्यक्रममा सहभागी पत्रकारहरुले प्रहरी संग प्रतिवाद गरेपछि प्रहरी पछि हटेको थियोे । प्रतिवादको क्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव उदय जियम,पत्रकार हरि शर्मा,गणेश खनाल लगायत पत्रकारको हातमा सामान्य चोटपटक समेत लागेको छ ।