ताजा समाचार

श्रावण २४ गते २०७६

‘युद्धको नेतृत्व गरे पनि मैले एक थप्पड कसैलाई हानेको छैन’

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू साहित्यिक हृदयको भएको बताएका छन् ।

शमी मासिक साहित्यिक पत्रिका तथा झरीको सौन्दर्य निबन्ध संग्रह लोकार्पण गर्दै उनले आफू भावनात्मक व्यक्ति भएको बताएका हुन् ।

“मेरो यही प्रवृत्तिका कारण आजसम्म मैले कसैलाई एक लपेटो हानेको पनि छैन, खाएको पनि छैन,” उनले भने ।

परिस्थितिले विद्रोहको नेतृत्व गरे पनि र हिंसात्मक सङ्घर्षको अगुवाइ गरे पनि आफूले एकजनाको पनि हत्या नगरेको उनले बताए ।

“कसैलाई अचम्म लाग्छ, मेरै नेतृत्वमा तेत्रो विद्रोह भयो । तर, मैले एकजनाको पनि हत्या गरिनँ । हिंसात्मक विद्रोहको जिम्मेवारी मैले लिनुपर्छ, लिन्छु,” उनले भने ।

राजनीतिमा होमिनु अगाडि साहित्यिक कृतिसँग जोडिएको र त्यसले विद्रोहतिर होम्न मद्दत गरेको उनको निचोड थियो ।