ताजा समाचार

श्रावण २४ गते २०७६

कुवेतले नेपाललाई खेल मैदान दिन मानेन, अब सबै खेल नेपालमै

२०२२ विश्वकप फुटबल छनोटको दोस्रो चरणको प्रतियोगितामा नेपालले घरेलु मैदान (होम ग्राउण्ड) मा खेल्नुपर्ने सबै खेल नेपालमा नै खेल्ने भएको छ ।

अन्तर्राष्ट्रिय स्तरको खेलमैदान तयार नभएकाले यसअघि कुवेतसँग नेपालले घरेलु मैदानमा खेल्नुपर्ने खेल पनि कुवेतमै गर्न प्रस्ताव गरेको थियो । तर कुवेतले नमानेपछि नेपालमा नै गर्न लागिएको हो ।

विश्वकप फुटबलको दोस्रो चरणको छनोटमा नेपालले कुवेत, चाइनिज ताइपेई, जोर्डन र अष्ट्रेलियासँग खेल्नुपर्नेछ । पुनर्निर्माण भइरहेको दशरथ रंगशाला समयमा तयार नहुँदा कुवेत, चाइनिज ताइपेई र जोर्डनसँगको खेलतालिका फेरवदल गरी नेपालले घरेलु मैदानमा खेल्ने खेल पछि सारिएको हो । अष्ट्रेलियासँगको खेल तालिका भने फेरबदल गरिएको छैन ।

अखिल नेपाल फुटबल संघ एन्फाका प्रवक्ता किरण राईले नेपालले पहिले अवे (घरेलु मैदानबाहिर) खेल खेल्ने गरी तालिका फेरबदल गरिएको जानकारी दिए । यसअघि फिफाले निकालेको खेल तालिकाअनुसार सुरुमा नेपालले कुबेत, चाइनिज ताइपेई र जोर्डनसँग पहिले होम खेल खेल्नुपर्ने थियो ।

तर मैदान तयार नभएकाले एन्फाको अनुरोधमा पहिले अवे खेल्ने गरी फिफाले खेल तालिका संशोधन गरेको छ । दोस्रो चरणको छनोट खेल नेपालले भदौ १९ गते कुवेतसँग अब खेल खेलेर सुरु गर्नेछ । त्यसपछि कात्तिक २९ गते होम ग्राउण्डमा खेल खेल्नेछ ।

त्यतिबेलासम्म दशरथ रंगशाला तयार हुने एन्फा प्रवक्ता राईले बताए । ‘त्यो मितिसम्म हामी जसरी पनि तयार गर्छौं, यदि सम्भव भएन भने न्युट्रल भेन्युमा जान्छौं’ उनले भने ।

नेपालले चाइनिज ताइपेइसँग अवे खेल भदौ २४ गते हुनेछ । होम खेल भने चैत १३ गते हुनेछ । जोर्डनसँगको अवे खेल असोज २८ गते र होम खेल जेठ २२ गते खेल्नेछ ।

नेपालले अष्ट्रेलियासँग अवे खेल असोज २३ गते खेल्दैछ भने होम खेल चैत १८ गते खेल्दैछ ।