अपहरणको धम्की दिनेलाई गोली हानेर अस्पताल पुर्‍याइयो

काठमाडौँको स्वयम्भूस्थित विजेश्वरी हाउजिङ नजीकैको एक क्याफेबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

जनप्रतिनिधिलाई करोडौँ रकम माग गरी नदिए तीन वर्षको छोरीलाई अपहरण गर्ने धम्की दिएको सूचना प्राप्त भएपछि महानगरीय अपराध महाशाखाको टोलीले खोजी अभियानका क्रममा दुई जनालाई पक्राउ गरेको हो । घटना आज दिउँसो १२ः१० बजे भएको थियो ।

पक्राउ पर्नेमा रामेछापको मन्थलीका लोप्सान भन्ने मिलन तामाङ र अर्का अमृत तामाङ रहेका छन् । मिलनले भने नाम फेरेर विभिन्न व्यक्तिलाई धम्क्याउँदै पैसा असुल्ने गरेको प्रहरीले जनाएको छ । उनी लुटपाट र आपराधिक क्रियाकलापमा संलग्न रहेको प्रहरीले जनाएको छ ।

प्रहरी आएको चाल पाएपछि प्रतिकार गर्दै भाग्ने क्रममा मिलनलाई घुँडामुनि गोली लागेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुल थापाले जानकारी दिए। उनको अहिले काठमाडौँस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

उनीहरुले लिखु हाइड्रो पावरबाट रु २० लाख, विभिन्न ठेकेदारबाट रु २० लाख रकम लिएको खुल्न आएको छ । उनीहरुले रामेछापको लिखु–तामाकोशी गाउँपालिका प्रमुख गोविन्द खड्गालाई रु दुई करोड नदिए तीन वर्षकी छोरीलाई अपहरण गर्ने धम्की दिएको प्रहरीले जनाएको छ ।

सोही घटनामा उनलाई पक्राउ गर्न महाशाखाको टोली खटिएको थियो । उनीहरु लुटपाटका घटनामा संलग्न रहेको भन्दै प्रहरीले घटनाका विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ ।