ताजा समाचार

श्रावण २३ गते २०७६

प्रहरीद्धारा नै जवर्जस्ती बलात्कार ?

जबर्जस्ती करणी गरेको आरोपमा प्रहरी जवान प्रकाशकुमार यादव पक्राउ परेका छन् ।

सप्तरी घर भई हाल ओखलढुङ्गाको श्रीचौरमा कार्यरत प्रहरी जवान यादवमाथि १८ वर्षीय किशोरीलाई करणी गरेको आरोप छ । 

पीडित किशोरीले बुधबार जाहेरी दिएपछि यादवलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी प्रमुख पुष्पराज मल्लले जानकारी दिए ।

किशोरीको किटानी जाहेरीका आधारमा प्रहरी जवान यादवलाई अदालतबाट म्याद थप गरी अनुसन्धान शुरु गरिएको उनको भनाइ छ । 

मङ्गलबार घाँस काट्न गएकी किशोरीलाई प्रहरी जवान यादवले जङ्गलमै जबर्जस्ती करणी गरेको पीडितको आरोप छ ।

यादवले करणी गरिरहेका बेला किशोरीका बुबाले देखेपछि घटना बाहिर आएको हो । प्रहरीले जङ्गलमा किशोरीलाई करणी गरेको घटना बाहिरिएपछि स्थानीयवासीले प्रहरीचौकी घेराउ गरेका थिए ।

चौकी तोडफोडको स्थिति आएपछि पीडित र आरोपित प्रहरीलाई जिल्ला झिकाइएको थियो । 

किशोरीले आफूलाई इच्छाविपरीत पटक–पटक यादवले करणी गरेको भनी किटानी दिएकी छिन् । महिला अधिकारकर्मीको सहयोगमा किशोरीले जिल्ला प्रहरी कार्यालय पुगेर मुद्दा दर्ता गराएकी हुन् । यादवले यसअघि जङ्गलमै घाँस काट्न गएको समयमा साउन २ गते पनि उक्त किशोरीलाई यौन सम्पर्क राखेको खुलेको छ । 

डेढ महीना अघि प्रहरीचौकी श्रीचौरका प्रमुख प्रहरी सहायक निरीक्षक (असई) पर्शुराम विश्वकर्माले मदिरा सेवन गरेर महिलालाई यौन दुर्व्यवहार गरेको घटना बाहिरिएको थियो ।

घटनापछि अनुसन्धान गरी विश्वकर्मालाई विभागीय कारवाही गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।