ताजा समाचार

श्रावण २३ गते २०७६

बामदेव गौतमसंग प्रचण्ड रुष्ट !

पछिल्लो समय नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सचिवालय सदस्य वामदेव गौतमबीच दुरी बढेको छ ।

केही दिनअघि एक दैनिक पत्रिकामा नेता गौतमको लेख प्रकाशित भएपछि प्रचण्ड गौतमसँग असन्तुष्ट छन् । 

नेता गौतमले पूर्व एमालेले मान्दै आएको जनताको बहुदलीय जनवादलाई अवको मार्गदर्शक सिद्धान्त बनाइएन भने कम्युनिष्ट आन्दोलन सफल नहुने कुरा लेखमा उल्लेख गरेपछि उनी र अध्यक्ष प्रचण्डबीचको सम्बन्ध चिसिएको छ ।

यसअघि नेकपामा जबजको विषयमा सचिवालय सदस्य ईश्वर पोख्रेलले मात्रै वकालत गर्दै आएका थिए । 

त्यहि विषयलाई लिएर पूर्व माओवादी समूहका नेताहरु सहमति विपरित नेता पोख्रेललको भनाई आएको भन्दै असन्तुष्ट बनेका छन् ।

तर, ठिक त्यहि समय नेता गौतमले जबजकै पक्षमा लेख प्रकाशित गरेसँगै अध्यक्ष प्रचण्ड नेता गौतमसँग असन्तुष्ट बनेको उनी निकट एक नेताले रातोपाटीलाई बताए ।

ती नेताका अनुसार नेता गौतमले पनि पार्टी सहमति विपरित वैचारिक विषयमा लेख लेखेको भन्दै नेता गौतमप्रति असन्तुष्ट बनेका छन् ।

जसले गर्दा अध्यक्ष प्रचण्ड र नेता गौतमबीचको सम्बन्ध चिसिएको चर्चा नेकपामा चल्न थालेको छ । 

प्रचण्ड निकट ती नेताका अनुसार लेख प्रकाशित भएपछि खुमलटार निवासमा प्रचण्ड र गौतमबीच भेट भएको थियो । भेटमा प्रचण्डले नेता गौतमलाई पार्टीको सहमतिविपरित त्यस्तो लेख किन आयो ? भनेर प्रश्न गरेका थिए ।

जवाफमा नेता गौतमले ‘तपाईले लेख पुरै पढ्नु भयो कि सुनेको भरमा बुझ्नु भयो ?’ भनेर उल्टै प्रश्न गरेका थिए । भेटमा नेता गौतमले प्रचण्डलाई पुरै लेख पढ्न सुझाएका थिए । 

पूर्व माओवादीका केही नेताहरुले पनि उक्त लेखबाट मात्रै नेता गौतमप्रति शंका नगर्न अध्यक्ष प्रचण्डलाई सुझाव दिएका थिए । 

उता नेता गौतमले आफु निकट नेताहरुसँग उक्त लेखले जबजको वकालत गरेको नभै विगतको समिक्षा गरेको बताएका छन् ।

उनी निकट स्रोतका अनुसार प्रचण्डले गलत बुझेको ठम्याई उनको छ । नेता गौतमले पार्टीको पूर्व सहमति अनुसारनै वैचारिक बहसको सुरुवात गरेको आफु निकट नेताहरुलाई बताएका छन् ।