पोखरामा पछिल्लो ९ दिनमा २१ जनामा डेंगुको संक्रमण भेटिएको छ ।
गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार पोखराको वडा नम्बर ४, ८, ९, १०, १७, २५ मा १७ जना र तनहुँ, स्याङ्जा र धरानका पोखरा आएका ४ जनामा डेंगु भेटिएको हो ।
स्वास्थ्य निर्देशनालयका निर्देशक खिमबहादुर खड्काका अनुसार डेंगु रोगीहरूमध्ये केहीको पोखराका विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने केही घर फर्किसकेका छन् ।
निर्देशक खड्काले धरानबाट डेंगु लागेर औषधि खाइ रहेका २ जना पोखरा आएको जानकारी दिए ।
पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाका प्रमुख हेमन्त पौडेलले पोखरा बसपार्क क्षेत्र र धेरै ग्यारेजहरु भएको क्षेत्रमा बढी मात्रामा डेंगुका विरामी भेटिएको जानकारी दिए ।
उनले पोखरा पर्यटकीय क्षेत्रमा भने त्यसको कुनै असर नरहेको बताए ।
पोखरामा भेटिएका बिरामीको ज्यान जोखिममा नरहेको उनले बताए । पोखरा महानगर स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्माले उपचार भन्दा पनि डेंगुको उत्पत्ति रोक्न जरुरी भएको बताए ।
‘लामखुट्टेका लार्भा रहने स्थान पहिचान गरी नष्ट गर्ने अभियान वडामा चलाइएको छ’, उनले भने, ‘महानगर मात्र होइन, यसबारे सबै सचेन हुन आवश्यक छ ।’




