नढक्ढक्याऊ हाम्रो तगारो
धर्मका आडमा
झोलाभरि भरि
सम्मोहन फैलाउने
हरिया हरिया बिटा बोकेर
नआऊ रात बिरात
हाम्रो सौहाद्रता बिथोल्न।
यी पाखामा
झुत्रो टोपी
मैलो कछाड
टालेको भाङ्ग्रा
भोको पटुकी
युगौदेखि
राष्ट्रियताको एउटै नसाले सिञ्चित छन।
यी पखेरामा
दशै र ल्होसार
गौरा र तिज
इद र क्रिसमस
उधौली र माघी
एउटै अङ्गालोमा बेरिएर
सुक्सुकाइरहन्छन्
खित्खिताइरहन्छन्
तिमी जति नै आरिसले सल्किऊ
धाननाच र देउडा
एक आपसमा पिरती गाॅसिरहन्छन्
कसैले खोतल्दैमा
जातको जरा
कसैले लगाउॅदैमा
धर्मको उकेरा
हामी बन्दैनौ बिचलित
हामी हुॅदैनौ टसमस
तसर्थ
बन्द गर आजैबाट
हाम्रो एकता धमिल्याउन
हाम्रो सहिष्णुता बिथोल्न
तिमीले उद्याइरहेको
जात र धर्मको औजार!!
(2076/04/23)




