ताजा समाचार

श्रावण २३ गते २०७६

पत्रिका ‘साहसी महिला’ को रकम एसिड पीडित संगीतालाई

एसिड आक्रमणपीडित संगीता मगरको अनुहारको सल्यक्रियाका लागि पर्यटन व्यवसायी महिला विष्णु गुरुङ ‘एकता’ ले पत्रिका बिक्री गरेर सहयोग रकम संकलन गर्न थालेकी छन् ।

मगर २०७१ साल फागुन १० गते ट्युशन पढ्ने क्रममा एसिड आक्रमणमा परेकी थिइन् ।

सन् २०१२ मा क्यालिफोर्नियामा गठित नेपाली वुमन ग्लोबल नेटवर्कको संस्थापक अध्यक्ष तथा लेकसाइडस्थित होटल दिदीको सञ्चालक गुरुङले आफूद्धारा प्रकाशित तथा सम्पादित ‘साहसी महिला’ द्वैवार्षिक पत्रिका बिक्रीको रकम पीडित मगरको अनुहार शल्यक्रियाका लागि संकलन गरेकी हुन् ।

उनले भनिन्, ‘समाजमा महिलामाथि विभिन्न खालका हिंसा भएका छन् । यो डरलाग्दो घटना हो । हिंसा न्यूनीकरणको अभियानसँगै पीडितको गुमेको आत्मविश्वास र हराएको सुन्दरता फर्काउन पहल थाल्नुपर्छ ।’

‘ज्ञान लिऊँ मद्दत दिऊँ’ भन्ने आह्वानका साथ उक्त पत्रिका किनेर सहयोग गर्न पनि उनले आग्रह गरिन् ।

सो पत्रिका महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ)को वार्षिक साधारणसभामा गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले लोकार्पण गर्दै एसिड आक्रमण अपराधको चरमरुप भएकाले यस्ता सामाजिक अपराध न्यूनीकरणको पहलमा सबै जुट्नुपर्ने धारणा व्यक्त गरिन् ।

पवित्र सोचले काम गरे सबैको साथ र सहयोग पाइन्छ भन्दै उनले महिलाका कति कुराहरू लिपिबद्ध हुन नसक्दा कतिपय महिलाको इतिहास नै मेटिएकाले विभिन्न क्षेत्रका महिलाको योगदानलाई पुस्तक तथा यस्तै पत्रपत्रिकामा लिपिबद्ध गर्न जरुरी रहेको बताइन् ।

महिला पर्यटन व्यवसायी मञ्चका अध्यक्ष जमुना पराजुलीले कानून बनाएर मात्रै महिला हिंसा न्यूनीकरण नहुने भन्दै सचेत र बौद्धिक जगतट समतामूलक सामाजिक न्यायका लागि आवाज बुलन्द गर्नुपर्ने बताइन् ।

६० पृष्ठको पत्रिकामा विभिन्न क्षेत्रमा कार्यरत महिलाको संघर्ष एवं प्रेरणाका कथा समेटिएको छ । रु १ सय मूल्य रहेको उक्त पत्रिकाको ९० थान बिक्रीबाट ९ हजार सङ्कलन हुनका साथै सम्पादक गुरुङले आफ्नो जन्मदिनको अवसरमा रु २१ हजार थपेर पहिलो चरणमा ३० हजार संगीता प्रतिष्ठानलाई प्रदान गरिने बताइन् ।